
काठमाडौं ।
इटहरी उपमहानगरपालिकाले इटहरी बजार क्षेत्रमा देखिएको अव्यवस्थित तार व्यवस्थित गर्न केबल तथा इन्टरनेट कम्पनीहरूलाई निर्देशन दिएको छ।
इटहरीमा विद्युत्, टेलिफोनलगायतका पोलमार्फत केबल, इन्टरनेट वितरण गर्ने क्रममा विस्तार गरिएका तार अव्यवस्थित भएर आगलागी बढेको गुनासो आएपछि उपमहानगरपालिकाले यस्तो निर्देशन दिएको हो।
सबै केबल तथा इन्टरनेट वितरक कम्पनीसँग बैठक गरी तार व्यवस्थापन गर्न निर्देशन दिएको इटहरी उपमहानगरपालिकाका कार्यवाहक प्रमुख दिवस पोखरेलले बताए। उनले उपमहानगरपालिकाका तर्फबाट पटक पटक आग्रह गर्दा पनि अटेरी गरी सम्पर्कमा नआएका कम्पनीबाट वितरित अव्यवस्थित तार भने उपमहानगरपालिकाले काटिदिने बताए।
विकास र विस्तारका क्रममा निरन्तर अगाडि बढेको इटहरी बजार अव्यवस्थित तारले कुरूप बन्दै गएपछि त्यसको व्यवस्थापनका लागि उपमहानगरपालिकाले चासो लिएको कार्यवाहक प्रमुख पोखरेलको भनाइ छ।
केबल, इन्टरनेट प्रदायक कम्पनीले वितरण गरेको तारमा आआफ्ना कम्पनीअनुसार फरक फरक किसिमको स्टिकर टाँस्न उप-महानगरपालिकाले आग्रहसमेत गरेको छ। गोरखापत्रबाट
प्रकाशित: ९ जेष्ठ २०८०, मंगलवार