
काठमाडौं ।
भिडियो साझा गर्ने सामाजिक सञ्जाल एप्लिकेशन टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने मोन्टाना पहिलो अमेरिकी राज्य बनेको छ।
सुरक्षा चिन्ता र चासोलाई सम्बोधन गर्न राज्य सरकारले टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाइएको घोषणा गरेको हो ।
मोन्टानाका गभर्नर ग्रेग जियानफोर्टले मोन्टाना राज्यका बासिन्दाका निजी विवरण चिनियाँ कम्युनिष्ट पार्टीबाट जोगाउने उद्देश्यले टिकटकमाथि प्रतिबन्ध लगाइएको स्पष्ट गरेका छन्।
गभर्नर जियानफोर्टले दाबी गरेअनुसार टिकटक “विदेशी विरोधीहरूसँग जोडिएको” र चिनियाँ कम्युनिष्ट पार्टीलाई प्रयोगकर्ता डाटाको महत्त्वपूर्ण मात्रा प्रदान गरिरहेको छ।
यसअघि मोन्टाना राज्यमा सरकारद्वारा जारी गरिएका डिभाइसहरूमा मात्र टिकटकलाई प्रतिबन्ध लगाइएको थियो।
राज्यका मुख्य सूचना अधिकारीलाई राज्य सञ्जाल र उपकरणहरूबाट उक्त एपलाई पूर्णरुपमा ब्लक गर्न निर्देशन दिएको उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।
डिसेम्बर २०२२ मा मोन्टाना सरकारले राज्यका उपकरणमा उक्त एपको प्रयोग वर्जित गरेको थियो । सङ्घीय सरकारका साथै अमेरिकाका धेरै राज्यमा उक्त सामाजिक सञ्जालको प्रयोग निषेध गरिएको छ। आगामी जून १ देखि उक्त सञ्जालमाथिको प्रतिबन्ध पूर्णरुपमा लागू हुनेछ। उक्त प्रतिबन्धलाई चुनौती दिँदै अदालतमा मुद्दा दायर हुनसक्ने समाचारमा जनाइएको छ।
प्रकाशित: ५ जेष्ठ २०८०, शुक्रबार