
काठमाडौं ।
वानप्लसले यो वर्षको अन्त्यमा आफ्नो पहिलो फोल्ड गर्न मिल्ने स्मार्टफोन सार्वजनिक गर्ने घोषणा गरेको छ। कम्पनीले एमडब्ल्यूसी २०२३ मा यसको खुलासा गरेको थियो। फोन २०२३ को तेस्रो क्वाटरमा लन्च हुने अपेक्षा गरिएको छ। जसलाई हालैका लीकहरुले पनि सपोर्ट गरेको लाइभमिन्टले उल्लेख गरेको छ। यद्यपि सार्वजनिक मिति अझै आधिकारिक रुपमा पुष्टि गरिएको छैन।
वान प्लसले नयाँ फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेपछि सामसङ, ओप्पो र मोटोरोला लगायत टेक जयान्टसँग जोडिनेछ। यद्यपि वानप्लस फोल्डेबल स्मार्टफोनका लागि नयाँ हो, तर आफ्ना प्रतिद्वन्द्वीहरूसँग कडा प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।
ट्विटरमा टिपस्टर म्याक्स जाम्बरद्वारा गरिएको ट्वीट अनुसार वानप्लसको पहिलो फोल्डेबल स्मार्टफोन अगष्ट २०२३ मा लन्च हुन सक्छ। केही समय अघि कम्पनीले आफ्नो फोल्डेबल फोन २०२३ को पहिलो क्वाटरमा सार्वजनिक हुने संकेत गरेको थियो। वनप्लसले यस वर्षको सुरुमा क्लाउड ११ कार्यक्रममा आफ्नो आगामी फोल्डेबल डिभाइसको झलक पनि प्रस्ताव गरेको थियो। तर, कम्पनीले यस फोनको बारेमा थप विवरण भने खुलाएको छैन।
रिपोर्ट अनुसार डिभाइसमा २के डिस्प्ले हुन सक्छ। यसलाई सामसङ ग्यालेक्सी जेड फोल्ड ४मा रहेको डिस्प्लेसँग तुलना गर्न सकिन्छ।
प्रकाशित: २३ बैशाख २०८०, शनिबार