आविष्कार केन्द्रको नाममा डियरवाकका संस्थापक पाण्डेले उठाएको करिब २८ लाख रुपैयाँ कहिले आउला?

  • Technology Khabar | १९ बैशाख २०८०, मंगलवार
आविष्कार केन्द्रको नाममा डियरवाकका संस्थापक पाण्डेले उठाएको करिब २८ लाख रुपैयाँ कहिले आउला?

काठमाडौं ।

आज छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आइसिटी डे’ विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। सूचना प्रविधिलाई प्राथमिकतामा राख्ने गरी जनचेतना जगाउन मनाईँदै गरेको आईसिटी डेको दिनमै नेपालको सूचना प्रविधि क्षेत्रका दूई हस्तिहरु बिच जुहारी चलिरहेको छ।

आज बिहानै सामाजिक संजाल ट्विटरमा डियरवाक ग्रुपका लगानीकर्ता/ संस्थापक तथा हाम्रो पात्रोका लगानीकर्ता डा. रुद्रराज पाण्डेले डा. महावीर पुनको धर्ना विरुद्ध लेखेसँगै शुरु भएको ट्विटर जुहारी अझै जारी छ।

ट्विटरमा डा. पाण्डेले सिधै डा. पुनलाई चप्पल पडकाएर हिँडदैमा आविश्कार नहुने भन्दै कटाक्ष गरेका छन्। उनले सरकारले पनि गलत तरिका अपनाएको भन्दै आविश्कारको बिजारोपण गर्न विश्वविद्यालयलाई सुधार्नुपर्ने सुझाब दिएका छन्।

हेर्नुस् सम्बन्धित समाचार-

‘आईसीटी डे’ कै दिन आईसीटी क्षेत्रमा आबद्ध रुद्रराज पाण्डे र महावीर पुन बिच सामाजिक सञ्जालमा जुहारी

हालै नवप्रवर्तन, आविश्कार र अनुसन्धानका लागि भन्दै माइतीघर मण्डलामा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको नेतृत्वमा धर्ना आयोजना गरिएको थियो। उक्त धर्ना समाप्त गर्ने र सरकारले उनका माग पुरा गर्ने सम्झौतासमेत आईतवार भईसकेको छ।

उता डा. पाण्डेको ट्वीटमा डा. पुनले केन्द्रको २२ हजार डलर तुरुन्त दिनुस् भनेर प्रश्न गरेसँगै डा. पाण्डे आफ्नो बचाउमा लागेको देखिन्छ।

उनले सिधै आफूले सो प्रश्नको उत्तर दिन सकेका छैनन्। तर करिब ९ घण्टापछि उनले आफ्नो ट्वीटमा अर्का एक जनाको ट्वीटको स्क्रिनसट राखेर प्रकृयामा रहेको मात्र बताएका छन्।

सन् २०१६ मा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्न भनेर अमेरिकामा उठाईएको रकम सन् २०२३ सम्म किन आएन भन्ने जानकारी समेत छैन् ।

उनले डियरवाक ग्रुपका अध्यक्ष हितेश कार्कीको ट्वीटको स्क्रिनसट राखेका छन्, जसमा भनिएको छ – “राआके सहयोगार्थ जम्मा भएको रकमलाई प्रकृया पुर्याई Deerwalk Foundation Nepal मा ल्याउन समाज कल्याण परिषद संग समन्वयन गर्ने कार्य अन्तिम अवस्थामा रहेको हुदा राआकेलाई रकम हस्तान्तरण गर्ने कुरामा ढुक्क भइदिनुहुन् र अनर्गल प्रचारवाजी नगरी दिनहुन अनुरोध गर्दछौं।”

https://twitter.com/rudrarajpandey/status/1653345937056759810

तर सन् २०१६ मा आविष्कार केन्द्रको नाममा उठाईएको रकम ७ वर्षमा पनि किन नेपाल आउन सकेन वा केन्द्रलाई दिन सकिएन भनेर बिस्तृत बिबरण दुवैजनाले दिन सकेका छैन्।

उक्त ट्वीटलाई आधार मान्दा अझै केन्द्रले रकम पाउने देखिँदैन्। किनकी सबैभन्दा पहिले डियरवाक फाउण्डेसन नेपालको नाममा नै रकम ल्याउनुपर्ने देखिन्छ र त्यसपछि मात्र केन्द्रलाई हस्तान्तरण हुनसक्नेछ।

पाण्डेले डियरवाक फाउण्डेसनको नाममा केन्द्रका लागि गोफण्डमी डटकम नामक प्लेटफर्मबाट सहयोग उठाएका थिए। प्लेटफर्ममा डा. महावीर पुन र उनको केन्द्रको बारेमा जानकारी समेत राखिएको छ।

फण्डरेज गर्ने गोफण्डमी डटकम पेजको जानकारीमा लेखिएको छ(अनुवाद गरिएको)- “नेपालको सामाजिक र आर्थिक विकासमा केन्द्रित योगदान पुर्याउने र नेपालभर नवप्रवर्तनलाई बढावा दिने लक्ष्यका साथ २०१२ मा स्थापना भएको राष्ट्रिय आविष्कार केन्द्र काठमाडौंमा अवस्थित छ। केन्द्रले १० मेगावाटको जलविद्युत केन्द्र निर्माण गर्न कोष खोजिरहेको छ जसको आम्दानीले केन्द्रको सञ्चालनलाई सहयोग गर्नेछ। यस स्केलको जलविद्युत स्टेशनले प्रति वर्ष औसत ३.५ मिलियन डलर उत्पन्न गर्ने निश्चित छ। नेपालमा विज्ञान र प्रविधिको विकासमा केन्द्रले ठूलो प्रभाव पार्नेछ।”

सो पेजमा डियरवाक फाउण्डेसनलाई गैर नाफामूलक संस्था भनिएको छ र संस्थाले केन्द्रका नाममा सो समयमा नै २१,४०३ अमेरिकी डलर सहयोग उठाएको देखिन्छ। उक्त रकम अहिलेको परावर्त्य मूल्यमा हेर्दा करिब २७ लाख ८२ हजार ३९० रुपैयाँ हुन जान्छ।

यस अवधिसम्म उक्त रकम केन्द्रको नाममा उठाएर पनि हस्तान्तरण नगरेपछि डियरवाक फाउण्डेसन र डा. रुद्रराज पाण्डेप्रति सबैले सामाजिक संजालमा आशंका र प्रश्न गरेका छन्।

प्रकाशित: १९ बैशाख २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार