
काठमाडौं ।
सरकारले सूचना तथा संचार प्रविधिको प्रबर्द्धन र विकासका लागि मनाउँदै गरेको आईसिटी डेको अवसरमा विभिन्न व्यक्ति तथा संस्थाहरुलाई अवार्ड प्रदान गरेको छ।
सरकारले सार्वजनिकरुपमा आवेदन मागेरै लामो समयदेखि आईसिटी क्षेत्रमा आबद्ध र विभिन्न किसिमबाट योगदान दिने व्यक्तित्वहरुलाई अवार्ड दिएको हो।
सरकारले आज विभिन्न ५ बिधामा आईसिटी अवार्ड प्रदान गरेर व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको जनाएको छ।
तर उक्त अवार्ड कार्यक्रममा आफ्ना शुभेच्छुक र नजिकका मान्छेलाई दिँदा स्वार्थ बाझिएको गुनासो आईसिटी क्षेत्रबाटै आएको छ। आज मे २ तारिखमा मनाईने आईसिटी डेको कार्यक्रमको अवसरमा आफ्ना नजिकका व्यक्तिहरुलाई खुशी पार्न अवार्ड दिएजस्तो देखिएको सहभागीहरुले नै गुनासो गरे।
सरकारले यो वर्षको आईसिटी व्यक्तित्वकोरुपमा पूर्व सहसचिव विरेन्द्र कुमार मिश्रलाई नेशनल आईसिटी एक्सलेन्स अवार्ड दिएको छ। उनले सूचना तथा संचार प्रविधिको क्षेत्रमा विशिष्ट योगदान दिएको भन्दै सरकारबाट अवार्डका साथै १ लाख रुपैयाँ प्राप्त गरेका छन्।
उनी सरकारी क्षेत्रमा आईसिटी उपयोग र प्रबर्द्धन गर्नुपर्छ भन्ने मान्यता राख्दै आएका व्यक्ति हुन्। सरकारी क्षेत्रलाई डिजिटलाईजेशन गर्नका लागि महत्वपूर्ण योगदान दिएको व्यक्तिको रुपमा समेत मिश्रलाई चिनिन्छ।
यदपी उनलाई अवार्ड दिने उपसमितिमा नै उनी संलग्न रहेको अर्को वार्षिक अवार्डका आयोजक नै सदस्य रहेको कार्यक्रममै घोषणा गरियो। उनी वार्षिकरुपमा आयोजना गरिने लिभिङ्ग विथ आईसिटीले आयोजना गर्ने आईसिटी अवार्डमा संलग्न रहँदै आएका छन् र सो अवार्ड कार्यक्रममा उनी सल्लाहकार रहेका छन्।
यस पटकको सरकारी अवार्डको कार्यक्रममा सोही अवार्डका आयोजक समितिका अध्यक्ष राजन लम्साल उपसमिति सदस्यको रुपमा सहभागी रहेका थिए।
सरकारी आईसिटी अवार्डका लागि सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठको संयोजकत्वमा अवार्डका लागि छनोट उप समिति गठन भएको थियो भने उक्त उपसमितिमा मन्त्रालयकै सहसचिव रमेश शर्मा पौडेल तथा गौरब गिरी, क्यान महासंघका अध्यक्ष रंजित पोद्दार, लिभिङ्ग विथ आईसिटीका तर्फबाट राजन लम्साल, एफएनसिसिआईका तर्फबाट सुधिर पराजुली र विभागकै निर्देशक पवित्र डंगोल रहेको कार्यक्रममा महानिर्देशक श्रेष्ठले जानकारी दिए।
सोही उपसमितिले नेशनल आईसिटी अवार्डको आवेदनका लागि सूचना माग गर्ने र पुरस्कारका लागि व्यक्ति तथा संस्थाको सिफारिस गरिएको उपसमिति संयोजक प्रेमशरण श्रेष्ठले कार्यक्रममा नै बताएका थिए।
तर उनले सो अवार्डहरुका लागि क-कसले आवेदन दिए र छनोटको आधार के थियो भन्ने कुनै बिबरण खुलाएनन्। उनले अंकभारको आधारमा निर्णय र सिफारिस गरिएको बताए।
यस्तै सरकारले दिने नेशनल आईसिटी वुमन एक्सलेन्स अवार्ड त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक डा. तिमिला यमी थापाले हासिल गरेकी छन्। उनले महिलाको तर्फबाट सो अवार्ड हात पारेकी हुन्।
उनी माओवादी निकट मानिन्छिन् र माओवादीकी पूर्व नेतृ हिसिला यमीकी सहोदर दिदि हुन्। हिसिला अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)की पूर्व अध्यक्ष समेत थिईन्।
यसअघि डा. बाबुराम भट्टराई एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को तर्फबाट प्रधानमन्त्री हुँदा काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रमुखमा उनै जेठीसासू डा. यमी थापालाई नियुक्त गरेका थिए र त्यस बेला नै यसको चौतर्फी विरोध भएको थियो।
हाल पनि सरकारमा माओवादीले नै नेतृत्व गरेको छ भने सञ्चार मन्त्री शर्मा पनि माओवादीको तर्फबाट नियुक्त भएकी हुन्।
यदपी डा. यमीले विभिन्न कार्यक्रमहरुमा महिलाहरुलाई सूचना प्रविधिको माध्यमबाट ससक्त बनाउनुपर्ने धारणा राख्दै आएकी छन्। उनी आफैं पनि सूचना प्रविधि क्षेत्रमा लामो समयदेखि संलग्न रहँदै र अध्यापनमा पनि आबद्ध रहँदै आएकी छन्।
त्यसैगरी नेपालको सूचना प्रविधिमा क्षेत्रमा निजी क्षेत्रबाट उल्लेखनीय योगदान दिएको भन्दै सरकारले २ कम्पनीलाई पनि सम्मान गरेको छ।
यस अन्तर्गत नेसनल आइसिटी अवार्ड २०२३ (प्राइभेट सेक्टर) को तर्फबाट इन्फोडेभलपर्स प्रालि र गभर्नेन्स अटोमेसन सोलुसन प्रालि सम्मानित भएका छन्।
यस मध्येको इन्फोडेभलपर्स त्यहि संस्था हो जसका सीईओलाई क्यान महासंघले क्यान इन्फोटेक प्रायोजन गरिदिए बापत उपाध्यक्ष पद दिएको थियो।
यस पटक पनि क्यान महासंघले उनको उक्त सहयोग स्वरुप निरन्तरता दिँदै अवार्डमा सामेल गरेको बताईएको छ। किनकी अवार्ड छनोट उपसमितिमा क्यानका अध्यक्ष नै सदस्यको रुपमा सहभागी थिए। यसले पनि उनलाई अवार्ड दिलाउन बल मिलेको देखिन्छ भने सिधै स्वार्थ बाझिने देखिन्छ।
हेर्नुस् सम्बन्धित समाचार-
यस बाहेक नेसनल आइसिटी अवार्ड (पब्लिक सेक्टर) २०२३ मा सर्वोच्च अदालत सम्मानित भएको छ। नागरिकलाई सूचना प्रविधिमैत्री सेवा प्रदान गरेको सरकारले सर्वोच्च अदालतलाई अवार्डद्वारा सम्मान गरेको हो।
यसका साथै नवप्रवर्तन तर्फ प्रिक्सा टेक्नोलोजी सम्मानित भएको छ। प्रविधिको क्षेत्रमा नविनतम उत्पादनहरु तयार पारेर उपलब्ध गराएको भन्दै प्रिक्सालाई नेसनल आइसिटी इन्नोभेसन अवार्ड २०२३ बाट सम्मानित गरिएको आयोजक समितिले जनाएको छ।
यस पटक आईसिटी अवार्ड दिँदा स्वार्थ बाझिएको अर्का एक सहभागीले बताए। आफ्ना सहयोगी र नजिकका व्यक्तिहरुलाई दिँदा कतै यसले आगामी दिनमा अवार्डकै गरिमा गुम्ने त होईन भन्ने प्रश्न उब्जिएको ती सहभागीले उल्लेख गरे।
प्रकाशित: १९ बैशाख २०८०, मंगलवार