भारतमा यूपीआई भुक्तानी गर्दा अप्रिल १ देखि शुल्क तिर्नुपर्ने

  • Technology Khabar | १६ चैत्र २०७९, बिहीबार
भारतमा यूपीआई भुक्तानी गर्दा अप्रिल १ देखि शुल्क तिर्नुपर्ने

काठमाडौं ।

छिमेकी देश भारतमा लोकप्रिय र अधिक प्रयोगमा रहेको एकीकृत भुक्तानी इन्टरफेस अर्थात् यूपीआई कारोबारमा शुल्क लाग्ने भएको छ।

अहिले यूपीआई सञ्चालन गर्ने  नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया (एनपीसीआई)ले मार्च २४ मा जारी गरिएको सर्कुलरमा यूपीआईबाट गरिने व्यापारी लेनदेनहरूमा प्रिपेड भुक्तानी उपकरण (पीपीआई) शुल्क लागू गरिने जनाएको छ।

यो सूचना अनुसार कुनै व्यक्तिले मोबाइल वालेट जस्ता प्रिपेड भुक्तानी साधनबाट व्यापारीलाई भारु २ हजारभन्दा बढी रकम ट्रान्सफर गरेमा त्यस्तो अवस्थामा निजले आदानप्रदान शुल्क तिर्नुपर्नेछ । भारतमा कार्ड र वालेट पीपीआई अन्तर्गत आउँछन्।

इकोनोमिक टाइम्समा प्रकाशित रिपोर्टका अनुसार एनपीसीआईको परिपत्रमा २ हजार रुपैयाँभन्दा माथिको कारोबारमा मात्रै यो इन्टरचेन्ज शुल्क लाग्ने छ। यो शुल्क सामान्यतया भारु २ हजार भन्दा बढी रकमको १.१ प्रतिशत हुनेछ। उल्लेखनीय कुरा के छ भने, एनपीसीआईले विभिन्न क्षेत्रका लागि फरक फरक विनिमय शुल्क तोकेको छ।

कृषि र दूरसञ्चार क्षेत्रमा न्यूनतम विनिमय शुल्क लगाइनेछ। यो शुल्क मर्चेन्ट लेनदेनमा भुक्तानी गर्ने प्रयोगकर्तालाई मात्रै तिर्नुपर्नेछ।

नेशनल पेमेन्ट कर्पोरेशनको सर्कुलर अनुसार, बैंक खाताहरू र पीपीआई वालेटहरू बीचको पियर-टू-पीयर (पी२पी) र पियर-टू-पीयर-व्यापारी (पी२पीएम) लेनदेनमा कुनै शुल्क लाग्ने छैन।

अप्रिल १ देखि यो नयाँ नियम लागू गरेपछि, एनपीसीआईले सेप्टेम्बर ३० अघि नै यसको समीक्षा गर्नेछ।

प्रकाशित: १६ चैत्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...