इन्जिनियर लाइसेन्स परीक्षामा साढे २८ प्रतिशत मात्रै उत्तीर्ण

  • Technology Khabar | १५ चैत्र २०७९, बुधबार
इन्जिनियर लाइसेन्स परीक्षामा साढे २८ प्रतिशत मात्रै उत्तीर्ण
सांकेतिक तस्बिर

काठमाडौं ।

इन्जिनियर लाइसेन्स परीक्षामा ५६५ जना पास भएका छन्। मंगलबार इन्जिनियरिङ काउन्सिलले पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराएको हो।

परीक्षामा सहभागी भएका १९८१ जना विद्यार्थीमध्ये ५६५ जना परीक्षार्थी पास भएको काउन्सिलका अध्यक्ष पदम साहीले जानकारी दिए।

उनले परीक्षा चैत्र १३ र १४ गते लिएको र जसमा साढे २८ प्रतिशत मात्रै उत्तीर्ण भएको बताए। उनले इन्जिनियरसम्बन्धी २० विधामा परीक्षा भएको बताए। इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लाइसेन्स परीक्षा लिन सुरु गरेको हो। पास नहुनेले काउन्सिलको प्रमाणपत्र नपाउने र नेपालभर इन्जिनियरका रूपमा काम गर्न नपाउने काउन्सिलले बताएको छ।

उनले भने, ‘‘हाम्रो ऐन अनुसारले हामीले नेपाल इन्जिनियरिङ परिषद्ले इन्जिनियरिङ काम गर्नको लागि इन्जिनियरले दर्ता गर्नुपर्ने सिस्टमको लागि दर्ता गर्नुपर्ने परीक्षा लिएका हौँ। त्यो हामीले यही १२ र १३ गते लिएका थियौँ। यसमा १९८१ जना विद्यार्थी उपस्थित रहनुभएको थियो। जसमा ५६५ जना पास हुनुभएको छ। त्यसमध्ये धेरैजसो २० ओटा विधामा जाँच भएकोमा सबैभन्दा धेरै सिभिल इन्जिनियरिङमा ११५३ जना हुनुहुन्थ्यो। यो नतिजा लगभग साढे २८ प्रतिशत मात्रै उत्तीर्ण भएका छन्। उत्तिर्णाङ्क ५० प्रतिशत हो।’’

पास भएका इन्जिनियरले इन्जिनियर व्यवसाय गर्नको लागि काउन्सिलमा दर्ता हुनुपर्ने भएकाले लाइसेन्सको लागि परीक्षा सुरु गरेको अध्यक्ष साहीले बताए। इन्जिनियरिङ काउन्सिलले विगतमा इन्जिनियर पढ्ने विद्यार्थीसँग परीक्षा लिने गरेको थिएन।

काउन्सिलले विश्व विद्यालयबाट इन्जिनियरिङ उत्तीर्ण प्रमाणपत्रका आधारमा परीक्षा बिना लाइसेन्स दिएर इन्जिनियरको रूपमा काम गरिरहेका थिए। तर अब इन्जिनियरिङसम्बन्धी कुनै पनि व्यवसाय गर्नको लागि काउन्सिलको परीक्षा उत्तीर्ण भएर अनुमति पाएपछि मात्रै काम गर्न पाउने नियम लागू भएको छ। गोरखापत्रबाट

प्रकाशित: १५ चैत्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार