भारतको चर्चित इलेक्ट्रिक स्कुटर ओला नेपाल आउँदै

  • Technology Khabar | १५ चैत्र २०७९, बुधबार

काठमाडौं ।

भारतको चर्चित इलेक्ट्रिक स्कुटर ब्रान्ड ओला नेपाल आउने भएको छ। चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरले ओलाको स्कुटर नेपाल ल्याउन लागेको हो।

सिजी मोटरका ब्रान्ड म्यानेजर किरण आर्चायका अनुसार ओला इलेक्ट्रिक स्कुटर नेपालमा ल्याउने तयारी भइरहेको टेक्नोलोजीखबरलाई जानकारी दिए।

गत असोजमा आयोजना भएको नाडा ईभी अटो शोमा सिजी मोटरले ओलाको दुई इलेक्ट्रिक स्कुटर एस वान र एस वान प्रो प्रदर्शन गरेको थियो। तर प्राविधिक कारणले कम्पनीले नेपालमा ती दुई स्कुटर बिक्रीमा ल्याएको थिए।

अहिले भने बिक्रीका लागि नै उपलब्ध गराउने गरी ओलाका इलेक्ट्रिक स्कुटर ल्याउन लागिएको म्यानेजर आर्चायको भनाइ छ।

‘ओलाको स्कुटर नेपाल ल्याउने सन्दर्भमा ओला इन्डियासँग छलफल भइरहेको छ। नेपालमा बिक्री गर्नका लागि ओला इन्डिया सकारात्मक छ’ आर्चायले भने, ‘अब केही समयमै ओलाका इलेक्ट्रिक स्कुटर नेपालमा ल्याएर बिक्री गर्ने योजना छ।’

ओलाका इलेक्ट्रिक स्कुटर नेपालमा कहिलेसम्म आईपुग्छ भन्ने उनले समय सीमा भने बताउँन चाहेनन्। उनका अनुसार सम्भवत चालु आर्थिक वर्ष भित्रैमा ओलाका इलेक्ट्रिक स्कुटर नेपालमा बिक्रीका लागि उपलब्ध हुनेछ।

सिजी मोटरले पहिलो चरणमा नाडा ईभी अटो शोमा प्रदर्शन गरिएको ओला एस वान र एस वान प्रो ल्याउने छ।

ओला इलेक्ट्रिक स्कुटर

दुवै एस वान र एस वान प्रो स्कुटरमा समान ८.५ किलोवाट क्षमताको मोटर उपलब्ध छ। यी दुवै स्कुटरको टर्क पनि समान ५८ एनएम छ भने ब्याट्री एस वानमा २.९८ किलोवाट आवर र प्रोमा ३.९७ किलोवाट आवर छ। एस वान प्रोमा ठूलो ब्याट्री रहेको कारण रेन्ज पनि धेरै छ। ओला एस वानको रेञ्ज १२८ किलोमिटर र एस वान प्रोको रेञ्ज १७० किलोमिटर छ।

दुवै स्कुटरमा अगाडि २२० एमएमको डिस्क र पछाडि १८० एमएमको डिस्क ब्रेक पाउन सकिन्छ। १२ इन्चको अलोय ह्वील, ट्यूवलेस टायर, अगाडि सिंगल फर्क र पछाडि मोनोसक सस्पेन्स पाउन सकिन्छ। दुवै स्कुटरमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स उपलब्ध हुनेछ। दुई स्कुटरमा डिजिटल इन्ट्रुमेन्ट क्लष्टर छ।

प्रकाशित: १५ चैत्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार