
काठमाडौं ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी निकायका वेबसाइटहरूमा रहेका पुराना वेबपेजका सामग्री र लिङ्क हटाउन निर्देशन दिएको छ।
कतिपय सरकारी निकायले नयाँ वेबसाइट बनाउने क्रममा पुराना साइटमा रहेका पुराना डाटाहरू नयाँ साइटमा स्थानान्तरण नगरेको कारण सर्भरमा भार तथा साइबर सुरक्षामा अध्याधिक जोखिम रहेकोले ती लिङ्क, फाइललगायतका सामग्रीहरू हटाउन निर्देशन दिएको हो।
प्रधानमन्त्रीका आइटी विज्ञ प्रकाश रायमाझीले दिएको जानकारी अनुसार, नयाँ वेबपेज बनाउँदा पुराना वेबसाइटका फाइल, डाटाबेसलगायतका सामग्रीहरू स्वतः स्थानान्तरण गर्नुपर्नेमा त्यसो नगरिएकोले निर्देशन दिनु परेको हो।
“यसरी पुरानो वेभसाइटमा जानुहोस् भनेर फाइल र लिङ्क राख्ने परिपाटीले एकातिर डाटा सर्भरमा भार पर्ने, व्याण्डविथ खपत भइरहने र अर्कोतर्फ पुराना वेबपेज हरुमार्फत् सुरक्षा जोखिम उच्च हुने सम्भावना रहन्छ। यसले आर्थिक तथा प्राविधिकरुपमा समेत ठूलो अर्थ राख्ने भएकोले निर्देशन दिइएको हो।”
हाल नेपाल सरकारका विभिन्न निकायले निजी क्षेत्रका प्राविधिक सेवा दिने कम्पनीहरूसँग परामर्श सेवा लिएर वेबपेज निर्माण गरेका छन्। उनले यसरी निर्माण भएका वेबपेजहरु समयमा नै प्राविधिकरुपमा अपडेट नहुने, निकायपिच्छे नै सुरक्षा जोखिम रहने तथा कतिपय प्राविधिक तथा सुरक्षासम्बन्धी मापदण्डहरूको उचित पालना नगरिने अवस्था रहेकोले प्रधानमन्त्री कार्यालयले एउटै वेब टेम्पलेट प्रयोगका लागि समेत तयारी गरिरहेको बताए।
उनले भने, “सबै निकायले आफ्नो अनुकूलतामा प्रयोग गर्न सकिने किसिमले स्टाण्डर्ड वेब टेम्पलेटको निर्माणको काम अघि बढेको छ। यो टेम्पलेट निर्माण सम्पन्न भएपछि सबै निकायलाई यही टेम्पलेटमा आधारित भएर वेबपेज निर्माणका लागि निर्देशन दिइने छ।”
प्रकाशित: १४ चैत्र २०७९, मंगलवार