
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राष्ट्रिय परिचयपत्रको लागि नागरिकको बिवरण संकलन कार्यलाई आगामी वर्षभित्र सक्ने गरी कार्य योजना बनाई काम गर्न निर्देशन दिएका छन्।
बिहीबार दिउँसो गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रिय परिचयपत्र तथा घटना दर्ता व्यवस्थापनका सन्दर्भमा राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीका लागि नागरिकको बिवरण संकलन कार्यलाई आगामी वर्षभित्र सक्ने गरी कार्य योजना बनाई काम गर्न भनेका हुन्।
उनले बुँदागत निर्देशन दिँदै सार्वजनिक सेवा बितरणको वर्तमान सरकारी शैलीलाई परिष्कृत र वैज्ञानिक बनाई नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र लिँदा नागरिकहरूले महसुस गरिरहेको झन्झट र ढिलासुस्तीको अन्त्य गर्न भनेका छन्।
यसैगरी राष्ट्रिय परिचयपत्र छपाई र बितरणलाई छिटोछरितो बनाउने र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग अन्य सेवा प्रदायक निकायका विद्युतीय प्रणालीलाई छिटो आवद्ध गरी सेवा प्रवाहलाई सरलीकरण गर्न निर्देशन दिएका छन्।
यसैगरी प्रधानमन्त्रीले अनलाइन व्यक्तिगत घटना दर्ता प्रणालीलाई सबै वडामा बिस्तार गरी सेवा सरलीकरण गर्ने र डाटा सुरक्षा र संरक्षण कार्यलाई मजबुत बनाउन भनेका छन्।
सबै स्थानीय तहहरूलाई सामाजिक सुरक्षा भत्ता बैङ्किङ प्रणालीमार्फत बितरण गर्न लगाउने। सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणालीमार्फत भुक्तानी गर्न समेत प्रधानमन्त्रीले बताएका हुन्।
प्रकाशित: २ चैत्र २०७९, बिहीबार