भारतको रिलायन्स जियो विश्वको सबैभन्दा ठूलो फाइभजी नेटवर्क कम्पनी बन्ने

  • Technology Khabar | २० फाल्गुन २०७९, शनिबार
भारतको रिलायन्स जियो विश्वको सबैभन्दा ठूलो फाइभजी नेटवर्क कम्पनी बन्ने

काठमाडौं ।

भारतको सबैभन्दा ठूलो टेलिकम कम्पनी रिलायन्स जियोले यो वर्ष अर्को ठूलो उपलब्धि हासिल गर्न सक्छ। यो विश्वको सबैभन्दा ठूलो स्ट्यान्डअलोन फाइभजी नेटवर्क कम्पनी बन्ने अपेक्षा गरिएको छ। रिलायन्स जियोले गत वर्ष देशमा ५जी सेवाहरू सुरु गरेदेखि तीव्र गतिमा आफ्नो उच्च गतिको नेटवर्क विस्तार गरिरहेको छ।

कम्पनीका अध्यक्ष म्याथ्यू ओमनले भारतलाई समग्र विकासको आवश्यकता भएको र जियोले यसमा योगदान गरिरहने बताएका छन्। “यस वर्षको दोस्रो आधामा, जियो संसारको सबैभन्दा ठूलो स्ट्यान्डअलोन फाइभजी नेटवर्क अपरेटर बन्नेछ,” उनले थपे।

जियोको फोकस ५जी स्ट्यान्डअलोन नेटवर्क सुरु गर्नमा छ, जबकि दोस्रो ठूलो टेलिकम कम्पनी भारती एयरटेलको जोड ५जी नन-स्ट्यान्डअलोन नेटवर्कमा छ, जसमा फाइभजी र फोरजी सेवाहरूको मिश्रण प्रदान गर्न सकिन्छ। भारती एयरटेलका अध्यक्ष सुनिल मित्तलले यस हप्ताको सुरुमा मोबाइल कल र डाटाको दर यस वर्ष बढाइने बताएका थिए। दूरसञ्चार व्यवसायमा गरेको लगानीको प्रतिफल निकै न्यून रहेको उनले बताए।

रिलायन्स जियोले गत महिना ११ राज्य र केन्द्र शासित प्रदेशका २० सहरहरूमा आफ्नो उच्च गतिको ५जी नेटवर्क विस्तार गर्ने घोषणा गरेको थियो। योसँगै कम्पनीको फाइभजी सेवा २७७ सहरमा उपलब्ध भएको छ। दूरसञ्चार कम्पनीहरूले गत अक्टोबरदेखि यी सेवाहरू सुरु गरेका थिए। कम्पनीका प्रवक्ताले भनेका थिए, “हामी ११ राज्य र केन्द्र शासित प्रदेशका २० सहरहरूमा ५जी सेवाहरू सुरु गर्न पाउँदा गर्व गर्छौं।” उनले यी सहर पर्यटन, व्यापार र शिक्षाका हिसाबले महत्वपूर्ण रहेको बताए।

भारतको केन्द्र सरकारले गत वर्ष अगस्टमा दूरसंचार कम्पनीहरूलाई स्पेक्ट्रम बितरण पत्र जारी गरेको थियो र उनीहरूलाई देशमा ५जी सेवाहरू सुरू गर्न तयार हुन भनेको थियो। टेलिकम विभागले ५जी स्पेक्ट्रम लिलामीमा लगभग १.५ लाख करोड रुपैयाँको अक्सन बीड प्राप्त गरेको थियो।

भारती एयरटेल र रिलायन्स जियोले अर्को वर्ष मार्चसम्म १५ करोड मोबाइल फोन प्रयोगकर्ताहरूलाई ५जीमा रूपान्तरण गर्ने लक्ष्य राखेका छन्। यी कम्पनीहरूले आगामी आर्थिक वर्षमा १.५ लाख करोड भारतीय रुपैयाँ लगानी गर्न सक्नेछन्। रिलायन्स जियोले २० वर्षको अवधिमा स्पेक्ट्रमका लागि ८७,९४६ करोड भारतीय रुपैयाँ तिर्नुपर्नेछ। एजेन्सीहरुका साथ

प्रकाशित: २० फाल्गुन २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...