
काठमाडौं ।
चिनियाँ टेक दिग्गज ह्वावेले अटोमोटिभ क्षेत्रमा आफ्नो प्रमुख साझेदार सेरेस समूहसँग नयाँ सम्झौता गरेको छ। आफ्नो संयुक्त व्यवसायलाई अझ गहिरो बनाउन सहकार्य गरिएको कार निर्माताको प्रेस विज्ञप्तिमा उल्लेख छ।
सेरेस ग्रुपको नयाँ इनर्जी भेइकल (एनईभी) ब्रान्ड सेरेस र ह्वावेले सेन्जेनमा एक सम्झौतामा हस्ताक्षर गरेका हुन्।
ह्वावेले नयाँ उत्पादनहरू परिभाषित गर्न आफ्नो बजार र प्रयोगकर्ताको माग अन्तर्दृष्टि क्षमताहरू प्रयोग गर्नेछ, जबकि सेरेसले अवस्थित मोडेलहरूको उत्पादन अनुभव पुनरावृत्ति, विकास र सुधार गर्न आफ्नो भूमिका जारी राख्नेछ।
विज्ञप्ति अनुसार दुबैले संयुक्तरूपमा नयाँ गाडी प्लेटफर्म लन्च गर्नेछन्। जसको पहिलो फ्ल्यागशिप मोडल २०२३ मा रिलिज हुने तालिका छ र उन्नत बौद्धिक (एडभान्स इन्टेलिजेन्स) ड्राइभिंग प्रणालीहरूले सुसज्जित हुनेछ। सेरेसले भनेको छ, ‘भविष्यमा उक्त प्लेटफर्ममा आधारित धेरै नयाँ मोडेलहरू लन्च गरिनेछ।’
यसैबीच, सेरेसले आक्रामक योजनाहरू पनि अनावरण गरेको छ। संयुक्त व्यवसायले एनईभीजको वार्षिक उत्पादन र बिक्री दुबै २०२६ सम्ममा १० लाख इकाईमा पुग्ने लक्ष्य राखेको बताए।
ह्वावेले सेरेसलाई प्रतिस्पर्धी उत्पादनहरू निर्माण गर्न सहयोग गर्न इन्टेलिजेन्स, डिजिटलाइजेसन, प्रयोगकर्ता अनुभव, उन्नत स्मार्ट ड्राइभिङ र हार्मोनीओएस ककपिटमा आफ्नो बल प्रयोग गर्ने विज्ञप्तिमा भनिएको छ।
सेरेस र ह्वावेले संयुक्त आविष्कार केन्द्रको स्थापनालाई पनि अगाडि बढाउने विज्ञप्तिमा उल्लेख छ।
हस्ताक्षर समारोहमा सेरेस समूहका संस्थापक तथा अध्यक्ष झाङ सिङ्हाइ, ह्वावेका अटोमोटिभ व्यवसाय प्रमुख रिचार्ड यू र सेरेसको मुख्यालय रहेको सहर चोङकिङका अधिकारीहरू उपस्थित रहेको सीएनईभीपोस्टले उल्लेख गरेको छ।
ह्वावेले आधिकारिक रूपमा अप्रिल २०, २०२१ मा आफ्नो फ्ल्यागशिप स्टोरहरूमा कारहरू बिक्री सुरु गर्ने घोषणा गर्यो, पहिलो मोडेल सेरेस एसएफ ५ एसयूभी हो, जसले ली अटो मोडेलमा प्रयोग गरिएको जस्तै विस्तारित-रेन्ज प्रविधि प्रयोग गर्दछ।
गएको डिसेम्बर २ मा कम्पनीले संयुक्तरुपमा एआईटीओ नामक ब्राण्डको घोषणा गरेका थिए।
प्रकाशित: १८ फाल्गुन २०७९, बिहीबार