दूरसञ्चार प्राधिकरणको सदस्य रिक्त भएको महिनौंपछि बल्ल सिफारिस समिति गठन

  • Technology Khabar | १३ फाल्गुन २०७९, शनिबार
दूरसञ्चार प्राधिकरणको सदस्य रिक्त भएको महिनौंपछि बल्ल सिफारिस समिति गठन

काठमाडौं ।

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको नयाँ सदस्य नियुक्त गर्नका लागि सिफारिस गर्नेगरी सिफारिस समिति गठन गरेको छ।

मन्त्रिपरिषदको बैठकले प्राधिकरणका नयाँ सदस्यको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा सिफारिस समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले  शुक्रबार नियमित पत्रकार सम्मेलनमा जानकारी दिईन्।

निर्णयअनुसार दूरसञ्चार प्राधिकरणमा कानूनतर्फका सदस्य नियुक्त गर्नुपर्ने हुन्छ।

सरकारले सदस्य पद रिक्त भएको १ महिना भन्दा बढि समयपछि बल्ल नयाँ पदपूर्ति सिफारिस समिति बनाएको हो।

हाल दूरसञ्चार प्राधिकरणको कानून तर्फको सदस्य पद रिक्त रहेको छ। कानून सदस्य हेमकुमार श्रेष्ठको समयावधि सकिएसँगै पद रिक्त रहेको हो। श्रेष्ठको अवधि २०७९ पुस २७ गते नै सकिएको थियो। सोहीअनुसार सरकारले नयाँ सदस्य नियुक्त गर्न सिफारिस समिति गठन गरेको हो।

सो समितिले सरकारलाई रिक्त हुने प्राधिकरणका सदस्यको लागि आवेदन माग गर्ने र त्यसमध्येबाट तीन जनाको नाम छनोट गरेर सरकारलाई सिफारिस गर्नेछ।

पदावधि सकिएका श्रेष्ठलाई यसअघि केपी शर्मा ओली सरकारले राजनीतिक नियुक्ति भएको भन्दै तत्कालिन अध्यक्ष दिगम्बर झासहित नियुक्ति खारेजीमा उनको पद पनि खारेज गरेको थियो। तर उनले नियुक्ती खारेजीको निर्णय गलत भएको भन्दै सर्वोच्च अदालत रिट दायर गरेकोमा अदालतले पद निरन्तर हुने निर्णय गरेको थियो।

उनलाई शेर बहादुर देउवा सरकारले २०७४ पुस २८ गते सदस्य पदमा पाँच वर्षका लागि नियुक्त गरेको थियो। श्रेष्ठ कानून व्यवसायी हुन्।

प्रकाशित: १३ फाल्गुन २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार