भारतमा १३८ बेटिङ्ग एप र ९४ लोन एपमाथि प्रतिबन्ध

  • Technology Khabar | २२ माघ २०७९, आईतवार
भारतमा १३८ बेटिङ्ग एप र ९४ लोन एपमाथि प्रतिबन्ध

काठमाडौं ।

भारतले फेरि एकपटक ठूलो कारबाही गर्दै धेरै एपमाथि प्रतिबन्ध लगाउन थालेको छ। यी एप्सको सम्बन्ध चीनसँग जोडिएको बताइएको छ। भारतको विद्युतीय तथा सूचना प्रविधि मन्त्रालयले १३८ वटा बेटिंग एप र ९४ वटा कर्जा दिने एपमा प्रतिबन्ध लगाउन थालेको भारतीय मिडियाहरुले जनाएका छन्। यी एपहरूले प्रयोगकर्ताको डाटा चोरेर चीनसँग सेयर गरिरहेका थिए।

भर्खरको रिपोर्टमा, स्रोतहरूले जानकारी दिएअनुसार भारतको इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयले १३८ बेटिंग एप र ९४ ओटा लोन एपहरू प्रतिबन्ध गर्न थालेको छ। भर्खरै भारतको इलेक्ट्रोनिक्स र सूचना प्रविधिलाई केन्द्रीय गृह मन्त्रालयबाट यी एपहरू ब्लक गर्न आदेश प्राप्त भएको बताईएको छ।

सरकारले यी एपहरूमा आईटी ऐनको धारा ६९ लगाएको छ। यी एपहरूमा भारतको सार्वभौमसत्ता र अखण्डतालाई हानि पुर्याउन सक्ने खालका सामग्री समावेश छन्। प्रतिबन्धित सबै एप चिनियाँ नागरिकले बनाएको रिपोर्टमा उल्लेख छ। भारतीय प्रयोगकर्ताहरूको महत्त्वपूर्ण डाटा उनीहरूसम्म पुग्दै थियो।

६ महिनाअघि भारत सरकारले जनतालाई ऋण दिएर दोब्बर रकम असुल्ने २८ वटा एपमाथि छानबिन थालेको थियो। ऋण लिएको व्यक्तिले दोब्बर रकम फिर्ता गर्न नसकेपछि उनीहरुलाई विभिन्न किसिमले दुर्व्यवहार गर्ने गरेको थियो। जब यी एप्सको छानबिन सुरु भयो तब यी एप्सको सम्बन्ध चीनसँग जोडिएको पाइएको थियो।

यी एप्स चिनियाँ नागरिकले बनाएका हुन् । ऋण दिने बहानामा उनीहरुले प्रयोगकर्ताको पर्सनल डाटा लिन्छन् । साथै अनुसन्धानमा ९४ एप इ–स्टोरमा थर्ड पार्टीसँग लिंक गरेर काम गरिरहेको पाइएको थियो ।

प्रकाशित: २२ माघ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...