
काठमाडौं ।
बाजुराको दुर्गम गाउँपालिकाको रूपमा रहेको हिमाली गाउँपालिकामा अझै पनि सञ्चार सेवा पुग्न नसक्दा स्थानीयबासी सञ्चार सुविधाबाट वञ्चित भएका छन्।
सातओटा वडा रहेको हिमालीका चार वडामा अहिलेसम्म पनि सञ्चार सुविधा छैन । झन्डै साढे ११ हजार जनसङ्ख्या रहेको गाउँपालिकाका १० हजार सात सय स्थानीय सञ्चार सेवाबाट बञ्चित छन् ।
गाउँपालिकाले बिच्छ्यालगायतका दुर्गम क्षेत्रमा टेलिफोन टावर स्थापना गर्न पटकपटक नेपाल टेलिकम जिल्ला शाखा बाजुरालाई पत्र पठाउने गरेको छ।
जति पत्र पठाए पनि सुनुवाइ नहुने निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए। गाउँपालिकाको बिच्छ्या, कबाडी, गुम्बा र पाँडीलगायतका दुर्गम क्षेत्रमा अहिले पनि फोन टावर छैन। सो क्षेत्रमा मोबाइल टावर नहुँदा समस्या भएको उनले बताए।
हिमाली गाउँपालिकाका अधिकांश ठाउँमा इन्टरनेटसहितको फोन टावर जडान गरेर नागरिकलाई सेवाको पहुँचसम्म पुयाउन गाउँपालिकाले पत्रमार्फत आग्रह गरेको छ। यसअघि पनि सेवा विस्तारको माग राखेर गाउँपालिका पटकपटक नेपाल टेलिकमको जिल्ला कार्यालयदेखि प्रदेश हुँदै केन्द्रीय कार्यालय धाउँदै आएको छ ।
दुर्गम क्षेत्रका स्थानीयका पीडा तथा गुनासालाई सम्बोधन गर्न पटकपटक प्रतिनिधिमण्डलसहित सम्बन्धित कार्यालय धाउने गरे पनि सुनुवाइ हुन नसकेको गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए। सम्बन्धित कार्यालयले दुर्गम क्षेत्रका नागरिकको आबाज नसुनेको प्रति उनले असन्तुष्टि जनाए।
साढे ११ हजार जनसङ्ख्या भएको हिमालीमा करिब आठ सय जनसंख्या मात्रै सञ्चारको पहुँचमा रहेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए।
गत आर्थिक वर्षमा गाउँपालिकाले आफ्नै लगानीमा टावरका लागि भौतिक संरचना र सोलार व्यवस्थापन गरेर गाउँपालिका नजिकै कामचलाउ अस्थायी रिपिटर टावर जडान गरेर मोबाइल र इन्टरनेट सेवाबाट पालिकाको कामकाज गरेपनि समुदायस्तरमा सेवा विस्तार नहुँदा नागरिकले फोन र इन्टरनेट सेवा लिन पाएका छैनन् । गोरखापत्रबाट
प्रकाशित: १६ माघ २०७९, सोमबार