सिसिटिभी क्यामरा जडान नहुँदा चोरीका घटना बढ्दै

  • Technology Khabar | ३ आश्विन २०७९, सोमबार
सिसिटिभी क्यामरा जडान नहुँदा चोरीका घटना बढ्दै
सांकेतिक तस्बिर

काठमाडौं ।

रुपन्देही स्थित सैनामैना नगरपलिकाको पूर्व–पश्चिम राजमार्गको सुरक्षा व्यवस्था चुस्त बनाउने उद्देश्यले खरिद गरिएका सिसिटिभी क्यामरा ६ महिना बित्दा पनि अहिलेसम्म जडान भएको छैन।

१ करोड ८ लाख रुपियाँको टेन्डर प्रक्रियाबाट खरिद गरिएको सो सिसिटिभी क्यामरा जडान नहुँदा चोरहरूलाई चोरी गर्न सहज भएको छ। यस क्षेत्रमा दिनहुँ जसो चोरीका घटना भए पनि नगरपालिकाले क्यामरा जडानमा चासो नदेखाएको स्थानीयको गुनासो छ ।

रुपन्देही सैनामैना सत्य सञ्जाल संस्थाका अध्यक्ष युवराज भुसालले दिनहुँ चोरी, बालबालिका अपहरणका घटना भइरहेको बताए । एक महिनाअघि वडा ६ सैनामैनामा ३ वटा बाइक र गाई बाख्रा चोरी भएको उनको भनाई छ। सिसिटिभी क्यामरा जडान भएमा चोरीका घटनामा कमी आउने भए पनि नगरपालिकाले जडानमा विलम्ब गरेको उनको गुनासो छ ।

स्थानीय युवा लक्ष्मण पौडेलका अनुसार नगरप्रमुखले चुनावताका नागरिकसामु गरिएको प्रतिबद्धता कार्यान्वयन भएको छैन। टेन्डर परेको ४५ दिनभित्र काम हुनुपर्ने भए पनि ६ महिना पुग्दा समेत काम नभएको उनले बताए।

टेन्डर प्रक्रियामा जाँदा सिसिटिभी क्यामरा जडान हुने खबरले आफूहरू खुसी भए पनि खुसी निराशामा प्रणित भइरहेको उनको भनाई छ । हरेक दिनजसो चोरीका घटना हुँदा घरमा बस्न पनि डर लाग्नेगरेको अर्का स्थानीय साबित्रा पौडेलले बताए।

सैनामैना नगरपलिकाका प्रेस सल्लाहकार कृष्ण भण्डारीले २१ स्थानमा बुलेट क्यामरा, पीटीजी क्यामरा र एएनपीआर क्यामरा गरी ३ थरिका ५९ वटा क्यामरा जडान गरिएको दाबी गरे।

सैनामैना नगरपालिकाका नगरप्रमुख फडेन्द्र शर्माले सिसिटिभी क्यामरा किन्ने काम भएकाले चाँडै जडान गरिने प्रतिबद्धता जनाए। काम प्रक्रियामा रहेकाले केही समय लाग्ने उनको भनाई छ। गोरखापत्रबाट

प्रकाशित: ३ आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...