
काठमाडौं ।
पोखरा, महानगरपालिका–१ बगरका ‘फ्रेन्सी’ व्यवसायी बलराम आचार्यलाई शनिबार दिउँसो परिचित व्यक्ति रमेश बञ्जाराको फेसबुक म्यासेन्जर कल आयो। ती परिचितले सञ्चो विसञ्चो सोधपुछ गरी नम्बर हराएकाले पुनः मोबाइल नम्बर पठाउन आग्रह गरे।
यसपछि मोबाइलमा आफूले एउटा लिङ्क पठाएकाले सोको कोड दिन आग्रह गरेपछि व्यवसायी आचार्यले चिनजानको साथीले भनेपछि तुरुन्तै पठाइदिए।
कुराकानीकै क्रममा मोबाइल बैंकिङ एप्स छ वा छैन? इसेवा चलाउनुहुन्छ कि हुँदैन भनेपछि उनले आफ्नो इसेवामा हाल पैसा नभएको जवाफ फर्काए।
सोको एक घण्टापछि आचार्यलाई काठमाडौँका एक साथीले मैले पठाइदिएको रु २५ हजार पाउनुभयो भनेर भन्नासाथ उनी झसङ्ग भए। यसबीचमा आचार्यले कसैसँग पनि पैसा मागेका थिएन्।
साथीले आफ्नो म्यासेन्जरबाट अनुरोध गरेपछि पैसा पठाइएको बताएपछि उनी आफूलाई प्रयोग गरेर कसैले साथीलाई ठगेको निचोडमा पुगे।
मोबाइलमा आएको कोड पठाएलगत्तै आफ्नो फेसबुक नियन्त्रणमा लिएर म्यासेन्जरबाट विभिन्न व्यक्तिसँग पैसा माग गरिएको आचार्यले बताए।
उनी मात्र होइन, शनिबार मात्र पोखरामा एकैदिन ६ जना बढी व्यक्ति फेसबुक आइडी ह्याक गरेर ठगिएको निवेदन लिएर प्रहरीकहाँ पुगृका थिए।
प्रकाशित: ६ भाद्र २०७९, सोमबार