
काठमाडौं ।
निर्दोष घोरसाइने
साझा यातायातले इन्जिन गाडीलाई इलेक्ट्रिफिकेसन (विद्युतीकरण) गर्ने भएको छ। इन्जिन गाडीलाई इलेक्ट्रिफिकेसन गर्नका लागि साझाले आवश्यक उपकरण खरिद गर्नका लागि राष्ट्रिय बोलपत्र (टेन्डर) आह्वान गरेको छ।
सोलुशन प्लससँगको सहकार्यमा साझा यातायातले आन्तरिक दहन इन्जिन (आईसीई) इलेक्ट्रिक ड्राइभ रुपान्तरण परियोजना शुरु गरेको हो।
इन्जिन गाडीलाई इलेक्ट्रिफिकेसन गर्नका लागि आवश्यक उपकरण खरिद गर्नका लागि साझाले साउन २९ गते बोलपत्र आह्वान गरेको हो। बोलपत्र अनुसार साझाले यस परियोजनाका लागि कन्भर्सन किट (इलेक्ट्रिक प्रोपल्सन सिस्टम, ब्याट्री सिस्टम, कन्ट्रोल सिस्टम र अन बोर्ड चार्जर) खरिद गर्नेछ।
कन्भर्सन किटको मद्दतबाट यातायातले इन्जिन गाडीलाई इलेक्ट्रिफिकेसन गर्ने साझा यातायातका आईसीई इन्जिन इलेक्ट्रिक ड्राइभ रुपान्तरण परियोजनाका प्रोजेक्ट म्यानेजर गौरवराज पाण्डेले जानकारी दिए।
‘इन्जिन गाडीलाई इलेक्ट्रिफिकेसन गर्नका लागि साझाले अनुसन्धात तथा विकास (आर एण्ड डी) शुरु गर्नेछ। पहिलो चरणमा एउटा इन्जिन गाडीलाई इलेक्ट्रिफिकेसन गरिनेछ,’ पाण्डेले टेक्नोलोजीखबरसँग भने, ‘यही परियोजनालाई अघि बढाउनका लागि बोलपत्र आह्वान गरिएको हो।’
साझाले परियोजना अघि बढाउनका लागि बोलपत्र आह्वान गरे पनि कुन गाडीलाई इलेक्ट्रिफिकेसन गर्ने भन्ने निश्चित भइसकेको छैन। यसका लागि साझाले नेपाली सेना र सरकारी निकायसँग रहेको पुरानो बस प्रयोग गर्ने योजना बनाएको छ। साझाले बस प्राप्त गर्नका लागि सेना र सरकारी निकायसँग आवश्यक छलफल अघि बढाइरहेको छ। उपकरण खरिद गर्नु अघि नै बस छनोट गरिसकिने पाण्डेले विश्वास व्यक्त गरे।
उनका अनुसार विद्युतीय रुपान्तरणका लागि ७ देखि साढे ७ मिटर क्षमताका बस उपयुक्त हुने देखिएको छ।
‘ठूलो बसलाई रुपान्तरण गर्न धेरै लगानीको आवश्यक पर्नेका साथै जटिलता पनि हुन्छ। ठूलोमा चुनौती पनि हुन्छ। साना गाडीहरु नै रुपान्तरणका लागि उपयुक्त हुनेछन्। साझाको प्राथमिकतामा पनि साना गाडी नै छ,’ पाण्डेले टेक्नोलोजीखबरसँग भने, ‘ बसको टुंगो नलागिसकेकाले अहिले नै यति क्षमताको बस रुपान्तरण गछौं भन्न सकिने अवस्था छैन।’
यो परियोजना भनेको विशुद्ध अनुसन्धान तथा विकास (आर एण्ड डी) हो। उनका अनुसार एकिन तथ्यांक उपलब्ध नभए पनि नेपालमा करिब ४ हजार बसलाई इलेक्ट्रिकमा रुपान्तरण गर्न सकिने देखिएको छ।
‘ती बसहरुलाई इलेक्ट्रिकमा रुपान्तरण गर्न सकिएको खण्डमा ठूलो धनराशी बाहिर जानबाट रोक्न सकिन्छ। साथै इन्धिन दोहन गर्ने सवारी विद्युतीयमा रुपान्तरण हुने भएकाले वातावरणको पनि जर्गेना हुनेछ,’ पाण्डे बताउँछन्, ‘स्वदेशी मुद्रा बाहिरनबाट रोक्न तथा वातावरण रक्षाका लागि साझाको परियोजना महत्वपूर्ण हुने विश्वास गरिएको छ।’
रुपान्तरणका अनुसन्धान तथा विकास अघि बढाउन लागिएकाले अहिले नै साझाले इन्धन दहन गर्ने सवारीलाई विद्युतीयमा रुपान्तरण गर्ने उद्योग सञ्चालनमा ल्याउँछ भन्न सकिँदैन। यसका लागि अनुसन्धान तथा विकास गर्न बाँकी नै छ। अहिले नै रुपान्तरण गरिएका सवारी सस्तो र किफायती हुन्छ भन्न सकिने अवस्था छैन। यसका लागि केही समय पर्खिनु पर्ने हुन्छ। यदि यो परियोजना सफल भएमा स्वयं साझा या साझाको अनुसान्धान तथा विकासलाई प्रयोग गरेर अन्य कम्पनीले पनि रुपान्तरण कम्पनी सञ्चालन गर्न सक्छन्।
कसले गर्छ लगानी?
साझा यातायातले सोलुशन प्लससँगको सहकार्यमा इन्जिन गाडीलाई इलेक्ट्रिकमा रुपान्तरण गर्ने परियोजना अघि बढाइरहेको छ। इन्जिन गाडीलाई इलेक्ट्रिकमा रुपान्तरण गर्ने परियोजनाका लागि आवश्यक आर्थिक स्रोत सोलुशन प्लसले उपलब्ध गराउनेछ।
प्रोजेक्ट म्यानेजर पाण्डेले यस परियोजनका लागि सोलुशन प्लसले कति आर्थिक सहयोग उपलब्ध गराउँछ भन्ने जानकारी दिएन। विद्युतीकरणका लागि आवश्यक उपकरण खरिद गर्नका लागि टेन्डर आह्वान भइसकेकाले सहयोगि निकायले उपलब्ध गराउने रकम खुलाउन नमिल्ने उनको भनाई छ। विद्युतीयकरणका लागि आवश्यक सम्पूर्ण रकम सोलुसन प्लसले उपलब्ध गराउने उनको आशय छ।
सोलुसन प्लस पेरिस सम्झौता दिगो विकास लक्ष्य र नयाँ शहरी एजेन्डाको सन्दर्भमा एकीकृत शहरी विद्युत गतिशीलता समाधान हो।
सोलुसन प्लसले कार्बन उत्सर्जन कम गर्नका लागि प्रतिवद्ध शहर, उद्योग, अनुसन्धान, संस्थाहरुलाई वित्तीय सहयोग उपलब्ध गराउँदै छ। साझा यातायातले पनि सोलुसन प्लसको ई मोबिलिटी परियोजनाका लागि वित्तीय सहयोग प्राप्त गरेको हो।
सोलुसन प्लेसले हनोई (भियतनाम), पासिग (फिलिपिनस), ललितपुर/काठमाडौं (नेपाल), किगाली (रुवान्डा) दार एस सलाम (तान्जानिया), क्विटो
(इक्वेडर), मोन्टेभिडियो, (उरुग्वे) म्याड्रिड (स्पेन), नान्जिङ (चीन), ह्याम्बर्ग (जर्मनी)मा परियोजना शुरु गरेको छ।
यस परियोजनाले अनुदान सम्झौता नम्बर ८७५०४१ अन्तर्गत युरोपियन युनियनको होराइजन २०२० अनुसन्धान र नवीनता कार्यक्रमबाट रकम प्राप्त गरेको छ।
कस्तो छ कानुनी व्यवस्था
नेपालमा इन्धनबाट सञ्चालन हुने गाडीलाई इलेक्ट्रिफिकेसन गर्न सकिने कानुनी व्यवस्था रहेको छ। सरकारले २०७८ चैत १४ गते नेपाल राजपत्रमा प्रकाशित सवारी तथा यातायात ऐन, २०४९ को केही बुँदा संशोधन गर्दै इन्धनबाट सञ्चालन हुने गाडीलाई विद्युतमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेको हो।
सवारी तथा यातायात ऐन, २०४९ को दफा ३९ मा सवारी साधनको स्वरुप परिवर्तन गर्न नपाउने व्यवस्था थियो। उक्त दफालाई संशोधन गर्दै इन्जिन सवारीलाई विद्युतीयमा रुपान्तरण गर्न सकिने व्यवस्था गरिएको हो।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १७६ को अधिकार प्रयोग गरी सोही ऐनको दफा ३९ को उपदफा (२) को प्रतिवन्धात्मक वाक्यांस तीन वर्षसम्म लागु नहुने गरी ’वातावरणमैत्री वा ऊर्जा दक्षतामूलक फेरबदल गरिने सवारी साधनको हकमा’ छुट दिने उल्लेख छ।
इलेक्ट्रिफिकेसनमा नेपालको अनुभव
नेपालमा पहिलो पटक २०४६ सालमा भाईराजा स्थापितले ब्याट्रीबाट चल्ने गाडी निर्माण गरेको भनेर अटो नेपाल २०७३ फागुन अंकमा पूर्ण रञ्जितकारको आलेख प्रकाशित छ।
तत्कालिन समयमा भारतले नेपाल माथि नाकाबन्दी लगाउँदा पेट्रोल, डिजेल तथा खाना पकाउने ग्यासको वितरण शून्य भएको छ। यस्तो अवस्थामा पेट्रोल तथा डिजेलबाट सञ्चालन हुने गाडी चलाउन सकिने अवस्था पनि थिए।
यस्तो असहज स्थितिमा स्थापितले ६०० सीसीको सुबारु कारलाई ब्याट्रीबाट चलाउन सकिने बनाएर शहरका मुख्य क्षेत्रमा गुडाएका थिए।
उनले विजुली गाडी बनाउका लागि एउटा पुरानो रसियन ट्रकको २४ भोल्टको चार्जिङ डाइनामोलाई मोटरको रुपमा मुख्य उपकरण बनाउँदै स्पीड रेगुलेटर कन्ट्रोलको लागि आफैले पुर्जा बनाए भने सिलाई मेशिनको पेडललाई काट्कुट गरेर एक्सिलेटरसमेत बनाए। आल्मुनियमको पातामा प्वालहरु परेर १० वटा ट्रान्जिस्टरपनि जोडे। नेपालमा पहिलो पटक तयार भयो विद्युतीय गाडी।
२०५६ सालदेखि विद्युतीकरण गरिएका करिब ६०० सफा टेम्पो काठमाडौंका विभिन्न रुटमा गुडिरहेका छन्। तत्कालिन समयमा सञ्चालनमा रहेका बिक्रम टेम्पोले ध्वनी तथा वायू प्रदुषण बढाएको भन्दै सरकारले काठमाडौं उपत्यकामा हटाउने निर्णय लियो। त्यसको विकल्पमा सरकार तथा विभिन्न संस्थाहरुको सहयोगमा इन्जिनबाट सञ्चालन हुने टेम्पोमा विद्युतीय उपकरण जडान गरि विद्युतीय टेम्पो निर्माण गरिएको थियो।
हाल नेपालमा दिगो यातायात, नेपाली सेनालगायतले इन्जिनबाट चल्ने गाडीलाई विद्युतीयकरण गर्दै आएका छन्।
प्रकाशित: १ भाद्र २०७९, बुधबार