
काठमाडौं ।
चिनियाँ इकमर्श कम्पनी अलिबाबाले तीन महिना अवधिमा १० हजार कर्मचारीलाई बर्खास्त गरेको छ। आफ्नो आम्दानीमा ५० प्रतिशतले गिरावट आएपछि ठूलो सङ्ख्यामा कर्मचारी बर्खास्त गरेको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।
यस पछाडिको कारण चीनमा उत्पादनको बिक्रीमा आएको कमी र सुस्त अर्थतन्त्र रहेको बताइएको छ। साउथ चाइना मर्निङ पोष्टका अनुसार जून त्रैमासिकमा ९,२४१ भन्दा बढी कर्मचारीहरूले हाङ्झाउस्थित अलिबाबा छोडेका छन्। यसका साथमा कम्पनीको कुल कार्यबल २ लाख ४५ हजार ७०० मा झरेको छ।
देशको अर्थतन्त्रमा आएको मन्दीसँगै व्यापारमा कमी आएपछि खर्च कटौती गर्ने प्रयासमा कर्मचारी निकालिएका हुन्।
सन् १९९९ मा स्थापना भएको अलिबाबाको गत जुनमा सार्वजनिक भएको त्रैमासिक वित्तीय विवरणअनुसार खुद आम्दानी २२.७४ अर्ब युआन कायम भएको थियो । अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको आय ४५.१४ अर्ब युआन थियो।
सन् २०१५ मा डानियल झाङ कम्पनीको प्रमुख कार्यकारी अधिकृत र २०१९ मा अध्यक्ष बनेपछि अलिबाबामा व्यापक फेरबदल भएको थियो ।
त्यसै वर्षको जुलाइमा कम्पनीले हङकङमा प्राथमिक सूचीकरणका निम्ति आवेदन गर्ने घोषणा गरेसँगै मुख्यभूमि चीनका लगानीकर्ताले पूँजी परिचालनको अवसर पाएका थिए। न्यु योर्क स्टक एक्सचेञ्जमा समेत सूचीकरण भएको पहिलो ठूलो कम्पनी बन्न अलिबाबा सफल भएको थियो।
गत महिना, अर्बपति ज्याक मा सरकारी नियामकहरूको दबाबको बीचमा एन्ट ग्रुपको नियन्त्रण छोड्ने योजनामा भएको रिपोर्टहरू बाहिर आएका थिए।
गत वर्षदेखि, चिनियाँ नियामक अधिकारीहरूले इन्टरनेट क्षेत्रमा आफ्नो प्रभुत्व समाप्त गर्न अलिबाबा र एन्ट ग्रुप जस्ता घरेलु टेक दिग्गजहरूमाथि कारवाही गरिरहेका छन्।
आर्थिक मन्दीको संकेत आएसँगै विश्वभर ठूला टेक कम्पनीहरुले कामदार कटौती वा भर्नामा रोक लगाउँदै आएका छन् । यसअघि नै फेसबुक, ट्विटर, टेस्ला, टिकटक नेटफ्लिक्स, एप्पललगायतले कटौती वा नयाँ कर्मचारी नलिने बताएका छन्।
प्रकाशित: २७ श्रावण २०७९, शुक्रबार