५० वर्षअघि प्रक्षेपण गरिएको ल्यान्डस्याट–१ स्याटेलाइट खिचेको थियो पृथ्वीको १ लाख तस्बिर

  • Technology Khabar | १० श्रावण २०७९, मंगलवार
५० वर्षअघि प्रक्षेपण गरिएको ल्यान्डस्याट–१ स्याटेलाइट खिचेको थियो पृथ्वीको १ लाख तस्बिर

काठमाडौं ।

२३ जुलाई १९७२ अन्तरिक्ष इतिहासमा एउटा विशेष दिन हो। २३ जुलाई १९७२ मा, अन्तरिक्ष वैज्ञानिकहरूले एउटा यस्तो स्याटेलाइट प्रक्षेपण गरे, जसले हामीलाई पहिलो पटक अन्तरिक्षबाट पृथ्वीको दृश्य देखायो। यो स्याटेलाइट (भूउपग्रह)ले हाम्रो पृथ्वीलाई हेर्ने तरिकालाई पूर्ण रूपमा परिवर्तन गर्यो।

यसको सहायताले पहिलो पटक वैज्ञानिकहरूले पृथ्वीबाट वन कसरी घट्दै गएको छ भनी हेर्न सक्षम भए। कसरी जंगलको आगोले पृथ्वीको ठूलो भागलाई कालो बनायो, र कसरी औद्योगीकरण र खेतीको दायरा बढाउँदा पृथ्वीबाट वनहरू घट्यो भन्ने अध्ययन गर्न सहयोगी साबित भएको छ।

नासाका वैज्ञानिकहरूले अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का साथमा मिलेर जुलाई २३ मा ल्यान्डस्याट-१ प्रक्षेपण गरेका थिए जसले सौर्यमण्डलको सबैभन्दा सुन्दर ग्रह हाम्रो पृथ्वीको तस्बिर क्याप्चर गरेको थियो। यस स्याटेलाइटले यसअघि पृथ्वीको सतहलाई विस्तृत रूपमा कहिल्यै नदेखिएको तस्बिरहरु खिचेको थियो।

ल्यान्डस्याट १ मौसम भूउपग्रह प्लेटफर्ममा बनाइएको थियो, त्यसैले यो स्याटेलाइट निम्बस वेदर स्याटेलाइटहरुसँग मिल्दोजुल्दो थियो।

त्यसयता ल्यान्डस्याट सिरिजका ९ स्याटेलाइटहरु प्रक्षेपण भइसकेका छन्। ल्यान्डस्याट–८ र ल्यान्डस्याट–९ स्याटेलाइटहरू हाल पृथ्वीको कक्षमा परिक्रमा गरिरहेका छन् र पृथ्वीको मौसम र जलवायुमा हुने परिवर्तनका साथै अन्य परिवर्तनहरूलाई पनि निगरानी गरिरहेका छन्।

ल्यान्डस्याट-१ को इतिहास

सन् १९६७ मा नासाले अर्थ रिसोर्स टेक्नोलोजी स्याटेलाइट (ईआरटीएस-१) नामक स्याटेलाइटमा काम गर्न थालेको थियो। यसलाई २३ जुलाई १९७२ मा पृथ्वीको कक्षमा राखिएको थियो। यसलाई नासाले क्यालिफोर्निया, संयुक्त राज्य अमेरिकाको भान्डेनबर्ग एयर फोर्स स्टेशनबाट प्रक्षेपण गरेको हो। पछि यस स्याटेलाइटको नाम परिवर्तन गरी ल्यान्डस्याट-१ राखियो।

त्यसपछि यसलाई ६ जनवरी १९७८ मा सेवानिवृत्त गरियो, किनभने यसको टेप रेकर्डहरू बिग्रन थालेका थिए। यद्यपि, जनवरी १९७५ मा, नासा र यूएसजीएसले मिलेर पृथ्वीको कक्षमा दोस्रो ल्यान्डस्याट स्याटेलाइट स्थापना गर्यो। यसलाई ल्यान्डस्याट-२ नाम दिइएको थियो। यसरी सन् १९७२ देखि ल्यान्डस्याट भूउपग्रहहरू अन्तरिक्षमा पृथ्वीको परिक्रमा गरिरहेका छन् ।

सन् १९७२ मा प्रक्षेपण भएपछि ल्यान्डस्याट–१ ले सन् १९७४ सम्म करिब १ लाख तस्बिरहरु पृथ्वीमा पठाएको थियो । यसले पृथ्वीको ७५% भन्दा बढी भागलाई आफ्नो तस्विरमा कैद गर्यो। प्रत्येक फोटो १८५x१८५ किलोमिटरको मापन साइजको थियो। स्याटेलाइट आफ्नो काममा यति राम्रो थियो कि यसको माध्यमबाट पृथ्वीमा थाहा नभएका नयाँ भूमिहरू पनि पत्ता लगाइयो।

पृथ्वीमा भइरहेका परिवर्तनहरूमा नजर राख्न स्याटेलाइटहरू धेरै उपयोगी छन्। यिनैको सहायताले पृथ्वीमा वनको क्षेत्रफल घटिरहेको छ वा बढिरहेको छ भनी पत्ता लगाउन सकिन्छ। यसबाहेक ध्रुवमा जमेको हिउँमा के-के परिवर्तन भइरहेका छन्, कति क्षेत्रमा र कति गतिमा हिउँ पग्लिरहेको छ, यी सबै जानकारी भूउपग्रहले खिचेको तस्बिरबाट लिइएको छ। यी स्याटेलाइटहरूले लगातार सतहको तस्बिरहरू सङ्कलन गर्छन्, जसले गर्दा पृथ्वीको सतहमा हरेक वर्ष हुने परिवर्तनहरू स्पष्ट रूपमा देख्न सकिन्छ।

प्रकाशित: १० श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार