
काठमाडौं ।
केही वर्षअघिसम्म विद्युतीय सवारीसाधन स्पोर्ट्स कारजस्तै दौडन सक्छन् भन्ने कसैले पत्याउँदैनथे, तर अहिले विद्युतीय कारले बिजुलीको गतिमा दौडिएर किर्तिमान बनाइरहेका छन्। इङ्गल्याण्डमा रेसिङ कारहरूको प्रदर्शन देखाउन वार्षिक कार्यक्रम हुन्छ, जसलाई फेस्टिवल अफ स्पीड भनिन्छ। कार्यक्रम गुडवुड हिलक्लिम्ब ट्र्याकमा आयोजित गरिन्छ। प्रत्येक वर्ष यस ट्र्याकमा कारहरूले अघिल्लो रेकर्ड तोड्छन् र यस वर्ष पनि त्यस्तै भएको छ।
गुडवुड हिलक्लिम्ब ट्र्याकमा भएको फेस्टिभल अफ स्पीडको समयमा पूर्ण रूपमा विद्युतीय कारले अघिल्ला सबै रेकर्ड तोडेको हो। इन्डिकार र पूर्व एफ १ ड्राइभर म्याक्स चिल्टनद्वारा सञ्चालित म्याकमर्ट्रि स्प्रिङ्गलिङ्ग फ्यान कार, १.८६ किमी (१.१६ माइल) को कोर्समा ३९.०८ सेकेन्डमा पुग्यो, जुन अघिल्लो रेकर्ड भन्दा लगभग एक सेकेन्ड कम थियो।
इलेक्ट्रेकका अनुसार, अघिल्लो कीर्तिमान रोमेन डुमसले २०१९ मा एक फक्सवागन आईडी.आर इलेक्ट्रिक रेसकारमा सेट गरेका थिए र उनले ३९.९ सेकेन्डको रेकर्ड समय पूरा गरे। डुमसले २० वर्षको कीर्तिमान तोडे, जहाँ उनले एफ १ ड्राइभर निक हेडफेल्डले १९९८ सिजनमा भी१० म्यालरेन एफ १ मा बनाएको रेकर्ड भन्दा कोर्स पूरा गर्न कम समय लिए।
गुडवुड रोड एण्ड रेसिङले आफ्नो युट्युब च्यानलमा यो रेकर्डको भिडियो पोस्ट गरेको छ, जसमा कार अत्याधिक गतिमा दौडिरहेको देखिएको छ। यहाँ अचम्मको कुरा स्पीडको साथसाथै कारलाई धेरै सहज तरिकाले कर्नरिङ गर्ने हो।
कार केही सेकेन्डमा उच्च गतिमा पुग्छ। इलेक्ट्रेकका अनुसार पहिलो १.५ सेकेन्डमा विद्युतीय कारले ६० माइल प्रतिघण्टा (लगभग ९७ किलोमिटर प्रतिघण्टा) को गति लिन्छ। पूरै कोर्समा धेरै ट्विस्ट र टर्नहरूसहित उचाईमा चढ्ने पनि समावेश छ, तर भिडियो हेर्दा कारले यी सबै अवरोधहरूलाई अत्यन्त सहजताका साथ पार गर्न सक्षम भएको देखिन्छ।
यो फ्यान कार हो, जुन इलेक्ट्रिक कार हो, तर यसको मुनि एउटा फ्यान हुन्छ, जसले हावालाई माथि तान्छ र कारको पछाडिबाट बाहिर धकेल्छ, कारको मुनि भ्याकुम बनाउँछ। यसले डाउनफोर्स सिर्जना गर्दछ, र घर्षण कम गर्दछ। नतिजा स्वरूपमा, फ्यान कारहरू कम घर्षणका साथ छिटो सर्न सक्छन्, र परम्परागत वायुगतिकी सतहहरूमा भर पर्ने अन्य सवारीहरू भन्दा उच्च गतिमा तीक्ष्ण मोडहरू सजिलैसँग काट्न सक्छन्।
प्रकाशित: १५ असार २०७९, बुधबार