मेजरमी डट एआई टोली हल्ट प्राइज रिजनल्स-काठमाडौं समिटको बिजेता

  • Technology Khabar | २९ जेष्ठ २०७९, आईतवार
मेजरमी डट एआई टोली हल्ट प्राइज रिजनल्स-काठमाडौं समिटको बिजेता

काठमाडौं ।

नेपालका ३ इन्जिनियरिङ स्नातक विद्यार्थीहरूको टोलीले हल्ट प्राइज रिजनल्स-काठमाडौं समिट जितेको छ र उनीहरू जुलाई २५ देखि अगस्ट १२ सम्म अमेरिकाको बोस्टनमा व्यक्तिगतरूपमा हुने एक्सलेरेटर फेजका लागि छनोट भएका छन्।

टोलीमा प्रमिश पौडेल (पुल्चोक क्याम्पस), गरिमा आचार्य (पुल्चोक क्याम्पस), र कोविद उपाध्याय (एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट) रहेका छन्।

विद्यार्थीहरूको लागि नोबेल पुरस्कार भनेर चिनिने हल्ट प्राइज प्रतिस्पर्धा, एक विश्वव्यापी प्रतिस्पर्धा हो जहाँ विश्वभरका विद्यार्थीहरूलाई सामाजिक उद्यमशीलता मार्फत विश्वको सबैभन्दा महत्त्वपूर्ण समस्याहरू समाधान गर्न चुनौती दिइन्छ। विजेता टोली (स्टार्टअप) ले उनीहरूको विचारलाई वास्तविकतामा ल्याउन १० लाख डलर कोष प्राप्त गर्नेछ।

मेजरमी डट एआई (MeasureMe.AI) टोलीको अवधारणा भारत, बंगलादेश, पाकिस्तान र नेपालका हजारौं अन्य अवधारणाहरूभन्दा माथि उठेको छ र उनीहरू प्रतियोगिताको लागि विश्वभर चयन गरिएका शीर्ष २० भन्दा धेरै टोलीहरूमा आफ्नो स्थान सुरक्षित गर्न सक्षम भएका छन्।

यसअघि, उनीहरूले पुल्चोक क्याम्पसमा भएको हल्ट अन-क्याम्पस इभेन्टमा १५ आईओई सम्बद्ध क्याम्पसका अन्य ११० टोलीसँग प्रतिस्पर्धा गरी जितेका थिए।

उनीहरूको स्टार्ट-अप, मेजरमी डट एआईले थ्रीडी मोबाइल बडी स्क्यानिङ प्रविधिको माध्यमबाट मानिसहरूको जीवनमा सुधार ल्याउने र मानवमा हुने कुपोषण (नेपाल जस्ता अल्पविकसित राष्ट्रहरूमा कुपोषण र अमेरिका जस्ता विकसित राष्ट्रहरूमा मोटोपना) को समस्या समाधान गर्ने लक्ष्य राखेको छ। मेजरमी डट एआईमार्फत शरीर स्क्यानिङ, निगरानी र निदान अझ सजिलो र पहुँचयोग्य हुनेछ।

एक्सेलेटर चरणमा उनीहरू सक्रिय रूपमा ६ हप्ताको हाइब्रिड कार्यक्रममा संलग्न हुनेछन्। डिजिटल चरणमा २० जुन देखि ८ जुलाई सम्म र व्यक्तिगत चरणमा बोस्टन, म्यासाचुसेट्समा जुलाई २५  देखि अगस्ट १२ सम्म यस कार्यक्रमलाई विभाजन गरिएको छ। यस अवधिमा, उनीहरूलाई विश्वभरका विज्ञहरूको विश्वव्यापी समुदायबाट सल्लाह प्रदान हुने र विश्वभरका समान विचारधाराका युवा उद्यमीहरूसँग सहकार्य गर्ने जस्ता अवसरहरू प्रदान हुने बताईएको छ।

प्रकाशित: २९ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार