अन्तरिक्ष महाशक्ति बन्ने अभियानमा चीन

  • Technology Khabar | २९ जेष्ठ २०७९, आईतवार
अन्तरिक्ष महाशक्ति बन्ने अभियानमा चीन

काठमाडौं ।

चीनका ३ अन्तरिक्ष यात्रीले चीनको नयाँ स्पेस स्टेशनमा काम गर्नका लागि ६ महिनाको अभियान शुरु गरेका छन्। अन्तरिक्ष महाशक्ति बन्ने चीनको अभियानका लागि यो परियोजना महत्वपूर्ण रहेको छ।

तियानगोङ स्पेस स्टेशन

गत वर्ष चीनले आफ्नो तियानगोङ स्पेस स्टेशनको पहिलो मोडल अन्तरिक्षमा स्थापित गरेको थियो। तियानगोङ नामको अर्थ हुन्छ, ‘स्वर्गको महल’। यस वर्षको अन्त्यसम्म चीन यस अन्तरिक्ष केन्द्रमा साइन्स ल्याब र अन्य मोड्यूल जोड्ने योजनामा काम गर्नेछ।

आगामी वर्ष चीनले शुनतियान नामको टेलीस्कोप अन्तरिक्षमा स्थापना गर्नेछ। यो टेलीस्कोप स्पेस स्टेशनको नजिकै उड्ने छ र मर्मत तथा इन्धनका लागि स्पेश स्टेशनको सम्पर्कमै रहनेछ।

तियानगोङमा आफ्नै ऊर्जा स्रोत, लाइफ सपोर्ट सिस्टम र बस्ने क्वाटर हुनेछ।

अन्तरिक्षमा स्पेस स्टेशन स्थापना गर्ने अभियान अघि बढाउने चीन तेस्रो मुलुक हो। यस अघि रुस र अमेरिकाले स्पेस स्टेशन निर्माण गरिसकेका छन्।

चीनले तियानगोङ स्पेस स्टेशनबाट धेरै आशा गरेको बीबीसीले उल्लेख गरेको छ। सन् २०३१ मा इन्टरनेशनल स्पेस स्टेशन (आईएसएस) खारेज गरिने छ र तियानगोङले त्यसको स्थान लिने चीनको अपेक्षा छ।

चीनको अन्तरिक्ष यात्रीलाई आईएसएसमा अवतरण गर्ने अनुमति छैन। अमेरिकी कानुनले आफ्नो अन्तरिक्ष एजेन्सी नासालाई चीनसँग जानकारी आदान प्रदान गर्न प्रतिबन्ध गरेको छ।

चन्द्र र मंगल ग्रहमा पुग्ने चीनको योजना

चीनको महत्वकांक्षा यतिमा टुंगिदैन। चीन केही वर्ष भित्रमा पृथ्वी नजिकै रहेका क्षुद्र ग्रहहरुबाट (एस्ट्रोयड) नमूना लिन चाहन्छ।

सन् २०३० सम्म आफ्नो पहिलो मानवसहितको अन्तरिक्ष यान चन्द्रमा उतार्ने चीनको योजना छ। साथै मंगल र बृहस्पति ग्रहमा खोजी अभियान पठाएर त्यहाँको माटो र चट्टानको नमूना संकलन गर्न चाहन्छ।

अन्य देश के गरिरहेका छन्

चीनले अन्तरिक्षमा आफ्नो भूमिका विस्तार गर्दै जाँदा अन्य धेरै देशहरु पनि चन्द्रमा पुग्ने लक्ष्यमा छन्।

नासाले सन् २०२५ सम्ममा अमेरिकी र अन्य देशको अन्तरिक्ष यात्रीलाई पुनः चन्द्रमामा उतार्ने लक्ष्य बनाएको छ। यसका लागि नासाले केनडी स्पेस सेन्टरमा आफ्नो विशाल रकेट एसएलएस तयार गरिरहेको छ।

जापान, दक्षिण कोरिया, रुस, भारत र यूएई चन्द्रमामा जानका लागि आफ्नो अभियानमा काम गरिरहेका छन्।

भारतले आफ्नो दोस्रो ठूलो चन्द्र अभियान लन्च गरिसकेको छ। सन् २०३० सम्म आफ्नै स्पेस स्टेशन स्थापित गर्ने आसय व्यक्त गरेको छ।

साथै यूरोपियन स्पेस एजेन्सी पनि नासासँग मिलेर चन्द्र अभियानमा काम गरिरहेका छन्। उनीहरु चन्द्रमाको नजिकै स्याटेलाइटको एक नेटवर्क विकास गर्ने अभियानमा जुटिरहेका छन्। जसको मद्दतबाट चन्द्रमामा पुग्ने अन्तरिक्ष यात्रीले सजिलै पृथ्वीमा सम्पर्क स्थापना गर्न सक्नेछन्।

अन्तरिक्ष नियम कसले बनाउँछ

सन् १९९७ को संयुक्त राष्ट्रहरुको आउटर स्पेस सम्झौताले अन्तरिक्षमा कुनै पनि राष्ट्रले दावी गर्न नसकिने उल्लेख गरिएको छ।

सन् १९७९ को संयुक्त राष्ट्रको चन्द्रमा सम्झौताले अन्तरिक्षको व्यापारिक दुरुपयोग गर्न नहुने बताए पनि अमेरिका, चीन र रुसले हस्ताक्षर गर्न अस्वीकार गरेका छन्।

अहिले अमेरिकाले आफ्नो आर्टेमिज अकोर्डलाई बढावा दिइरहेको छ। जसबाट विभिन्न देशहरुको सहयोगमा चन्द्रमाको खनिजहरुको सहि तरिकाले उपयोग गर्न सकियोस्।

रुस र चीनले उक्त सम्झौतामा हस्ताक्षर गरेका छैनन्। अमेरिकालाई अन्तरिक्षका लागि नियम बनाउने अधिकार नभएको उनीहरुको तर्क छ।

अन्तरिक्षमा चीन

चीनले सन् १९७० मा आफ्नो पहिलो स्याटेलाइट अन्तरिक्षमा स्थापित गरेको थियो। सो समयसम्म चीन भन्दा अघि अन्तरिक्षमा पुग्नेमा अमेरिका, रुस, फ्रान्स र जापान मात्र रहेको थियो।

पछिल्लो १० वर्षमा चीनले २०० भन्दा बढी रकेट लन्च गरिसकेको छ। चीनले पहिले नै चट्टानको नमूनाहरु संकलन गर्न चाङ्गे ५ नामक मानवरहित मिसन चन्द्रमामा पठाइसकेको छ। उक्त मिसनले चन्द्रमाको सतहमा अघिल्ला अमेरिकी झण्डाहरु भन्दा ठूलो चिनियाँ झण्डा राखेको छ।

चीनले अन्तरिक्ष अभियानमा सफलता मात्र प्राप्त गरेको छैन्। सन् २०२१ मा एउटा रकेट अटलान्टिक महासागरमा खसेको थियो भने सन् २०२० मा दुई प्रक्षेपण असफल भएको थियो।

खर्च कहाँबाट जुटिरहेको छ

चीनको सरकारी मिडिया सिन्ह्वाकाअनुसार करिब ३ लाख चिनियाँ नागरिक अन्तरिक्ष अभियानमा काम गरिरहेका छन्। यो नासामा काम गर्नेको तुलनामा १८ गुणा बढी हो।

सन् २००३ मा द चाइनीज नेशनल स्पेस एडमिनिस्ट्रेशन (चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन) २ अर्ब युआन अर्थात ३० करोड अमेरिकी डलरको प्रारम्भिक वार्षिक बजेटसहित स्थापना गरिएको थियो।

यद्यपि सन् २०१६ मा चीनले आफ्नो अन्तरिक्ष अभियान निजी कम्पनीका लागि पनि खुल्ला गरिसकेको छ। चिनियाँ मिडियाका अनुसार अब यी कम्पनीले वार्षिक १० अर्ब युआन अर्थात करिब १.५ अर्ब अमेरिकी डलर लगानी गर्दै आइरहेका छन्।

अन्तरिक्षमा चीनको किन लगाव

दूरसञ्चार, हवाई ट्राफिक व्यवस्थापन, मौसम पूर्वानुमान र नेभिगेसन लगायतका लागि चीन आफ्नो स्याटेलाइट प्रविधि विकास गर्न इच्छुक छ।

चीनका धेरै स्याटेलाइटहरु सैन्य उद्देश्यसँग सम्बन्धित पनि छन्। यी स्याटेलाइट प्रतिद्वन्द्वी मुलुकहरुमा जासूसी गर्न र लामो दूरीको मिसाइलहरुलाई मार्गदर्शन गर्न मद्दत गर्छन्।

पोट्समाउथ युनिभर्सिटीका अन्तरिक्ष परियोजना प्रबन्धक लुसिन्डा किङ्ग भन्छिन्, ‘चीनले उच्च प्रोफाइल अन्तरिक्ष मिसनहरुमा मात्र ध्यान केन्द्रित गरिरहेको छैन। उनीहरु अन्तरिक्षका सबै पक्षहरुमा प्रबल छन्। तिनीहरुसँग राजनीतिक प्रेरणा र उनीहरुसँग योजनाबद्ध कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक स्रोत उपलब्ध छ।’

चीनको चन्द्र अभियान भने पृथ्वीमा पाइने दूर्लभ खनिज पदार्थ हासिल गर्ने पनि रहेको छ।

लन्डन विश्वविद्यालयको लन्डर इन्स्टिच्युट अफ स्पेस नीति र कानूनका निर्देशक प्रोफेसर सइद मोस्टेसर चीन चन्द्रमामा लगातार अभियान पठाएर पनि धेरै कुरा हासिल गर्न नसकेको दावी गर्छन्।

उनी भन्छन्,‘चीनको अन्तरिक्ष कार्यक्रम बाँकी विश्वलाई प्रभाव पर्ने इच्छाबाट धेरै प्रेरित छ। यो शक्तिको प्रक्षेपण र प्रविधिक विकासको प्रदर्शन हो।’ बीबीसीबाट

प्रकाशित: २९ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘OTT Platform’ now comes under legal radar; Registration and permission mandatory

  • Technology Khabar
  • २९ जेष्ठ २०७९, आईतवार