सञ्चार मन्त्रालयद्वारा ९ अर्ब बढीको बजेट माग, डिजिटल नेपाल फ्रेमवर्क र इन्टरनेट बिस्तार प्राथमिकतामा

  • Technology Khabar | ३ जेष्ठ २०७९, मंगलवार
सञ्चार मन्त्रालयद्वारा ९ अर्ब बढीको बजेट माग, डिजिटल नेपाल फ्रेमवर्क र इन्टरनेट बिस्तार प्राथमिकतामा
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय। फाइल तस्बिर

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि ९ अर्ब रुपैयाँ भन्दा धेरै माग गरेर राष्ट्रिय योजना आयोगलाई आफ्नो मन्त्रालयको योजनाहरु पठाएको छ।

यहि जेठ १५ गते सार्वजनिक हुने आगामी आवको बजेटका लागि यसअघि आयोग र अर्थ मन्त्रालयले ८ अर्ब ६५ करोड रुपैयाँको बजेट सिलिङ्ग तोकिदिएकोमा मन्त्रालयले भने सो रकम नपुग हुने भन्दै ९ अर्ब भन्दा धेरै माग गरेको हो।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता विनोदप्रकाश सिंहले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन र देशभर इन्टरनेट सेवाको पहुँलगायतका कार्यहरु गर्ने आगामी आवको योजना प्राथमिकतामा रहेको जानकारी दिए।

“हामीलाई तोकेको बजेट सिलिङ्ग अपुग हुने हुँदा ९ अर्ब भन्दा धेरैको बजेट माग गरेका छौं,” उनले टेक्नोलोजीखबरसँग भने, “आगामी आवमा डिजिटल नेपाल फ्रेमवर्क, इन्टरनेट नपुगेको स्थानहरुमा सेवा बिस्तार, हुलाकको पुर्नसंरचना, सेक्यूरिटी प्रेसको स्तरोन्नतिलगायतका विषयहरु छन्।”

यसअघि नै मन्त्रालयले डिजिटल नेपाल फ्रेमवर्कका पहलहरूलाई अझै प्रभाबकारी रुपले कार्यन्वयनको लागि विश्व बैंकको सहयोगमा डिजिटल नेपाल एक्सेलरेसन प्रोजेक्टको कार्य अगाडि बढेको जानकारी दिएको छ।हाल विश्व बैंकको सहकार्यमा  मन्त्रालयले तयार पारेको योजनाहरु र प्रक्रियाहरुको मस्यौदा समेत सुझाबका लागि सार्वजनिक गरिसकेको छ।

प्रवक्ता सिंहकाअनुसार यस बाहेक मन्त्रालयले आईटी पार्कको विकास, डाटा सेन्टर निर्माण, र सूचना प्रविधिको विकासलाई समेत जोड दिएको छ।

“हामीले देशभर सूचना प्रविधिको विकासलाई जोडदिने गरी बजेट माग गरेका छौं,” उनले भने ।

चालु आव २०७८/७९ मा पुरा हुन नसकेका योजनाहरुलाई समेत आगामी आव २०७९/८० मा निरन्तरता दिईने मन्त्रालयको योजना रहेको छ।

आजै आगामी आवको बजेटका सिद्धान्त तथा प्राथमिकताहरु व्यवस्थापिका संसदमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: ३ जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार