
काठमाडौं ।
डिसेन्ट्रलाइज्ड फाइनान्स (डेफी) खण्डमा अवैध क्रिप्टोकरेन्सी कारोबारको संख्या विगत दुई वर्षमा तीव्र रूपमा बढेको छ। ह्याकरहरूले यो वर्ष हालसम्म करिब १.७ अर्ब डलर बराबरको डिजिटल सम्पत्ति चोरेका छन्।यसमध्ये ह्याकरहरूको आक्रमणको ९७ प्रतिशतमा डेफी प्रोटोकलहरू लक्षित थिए।
ब्लकचेन एनालिटिक्स फर्म चेनालाइसिसको एक रिपोर्ट अनुसार, चोरी गरिएका सम्पत्ति मध्ये ८ करोड ४० लाख डलर भन्दा बढी उत्तर कोरियासंग जोडिएको ह्याकरहरुमा गएको छ। त्यसैगरी डेफी प्रोटोकल प्रयोग गरी मनी लान्ड्रिङ पनि हालका वर्षहरूमा बढेको छ।
प्रतिवेदनले सम्पत्तिको चोरी पत्ता लगाउन त्यस्ता प्रोटोकलहरूले सामना गर्ने कठिनाइहरूको विवरण पनि दिन्छ। धेरैजसो डेफी योजनाहरूमा केवाईसीको नहुनाले अपराधीहरूलाई तिनीहरूमा प्रवेश गर्न सजिलो बनाएको छ।
रिपोर्टले ह्याकिंग आक्रमणका लागि कुख्यात लाजरस समूहलाई उल्लेख गरेको छ, जसले गत वर्ष धेरै प्रोटोकलहरू उल्लङ्घन गरेर लगभग ९ करोड १० लाख डलर मूल्यको क्रिप्टोकरेन्सीहरू चोरेको थियो। यसले चोरी गरेका टोकनहरूलाई बिटक्वाइन र ईथरमा रूपान्तरण गरेको र त्यसपछि तिनीहरूलाई केन्द्रियीकृत एक्सचेन्जहरूमा स्थानान्तरण गरेको बताईन्छ।
भर्खरै, कम्तिमा ५४ बीएवाईसी एनएफटीहरू एनएफटी सिरिज बोरड एप याच क्लब (बीएवाईसी) को इन्स्टाग्राम खाता र डिस्कर्ड सर्भर ह्याक गरेर चोरी भएको थियो। यसले लगभग १३ करोड ७० लाख डलर नोक्सान गरेको बताईएको छ। यस ह्याकिङ्गमा बीएवाईसीको मालिक युगा ल्याब्स र इन्स्टाग्रामले अनुसन्धान सुरु गरेको छ। ह्याकरले बोरड एप याट क्लब जस्तो देखिने वेबसाइटमा नक्कली लिङ्क पोस्ट गरेको बीएवाईसी प्रवक्ताले बताए। प्रयोगकर्ताहरूलाई पछि नक्कली एयरड्रपमा भाग लिनको लागि स्क्यामरको वालेटमा आफ्नो मेटामास्क कनेक्ट गर्न भनियो।
ह्याक पत्ता लागेपछि, बीएवाईसीले आफ्नो समुदायलाई सचेत गरायो र इन्स्टाग्राम र यसको प्लेटफर्महरूबाट सबै लिङ्कहरू हटाएको थियो। यस बाहेक, बीएवाईसीले प्रयोगकर्ताहरूको तर्फबाट एनएफटी सिर्जना गर्न पनि निषेध गरेको छ।
यस्तो अवस्थामा फेक एयरड्रप लिंकमा क्लिक गर्ने प्रयोगकर्ता निशाना बनेका छन्। चोरी गरिएका एनएफटीहरु ह्याकरहरूको वालेट ठेगानामा स्थानान्तरण गरिएका थिए।
प्रकाशित: ३ जेष्ठ २०७९, मंगलवार