Technology Khabar ६ पुष २०७३, बुधबार
काठमाडौं ।
काठमाडौँ, ६ पुस । फुटवेयर म्यानुफ्याक्चर एसोसियसन अफ नेपालको आयोजनामा जुृत्ता तथा चप्पलको १२औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित यस प्रदर्शनीमा छालाजुत्ता तथा छालाजन्य वस्तुको साथमा स्वदेशी सिलाई व्यवसायीहरुका उत्पादनहरु प्रदर्शनमा राखिएको छ ।
सात दिनसम्म चल्ने यस मेलाको उद्घाटन गर्दै वाणिज्य सचिव नईन्द्र प्रसाद उपाध्यायले नेपाली फुटवयर उद्योग ठुलो सम्भावना भएको उद्योगको रुपमा अगाडी आएको र यसको परिणाम स्वरुप गएको ४ महिनामा यस सेक्टरको विगतको वर्षको तुलनामा ठुलो फड्को मारेको बताए ।
उनले निर्यातको सम्भावना बोकेको उद्योगको रुपमा रहेको हुँदा सरकारले यो उद्योगलाई एनटिआइएस सुचिकृत वस्तुको रुपमा राखेको दाबी गरे । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले हाल उद्योगमा दक्ष कामदारको अभाव रहेको र सोका लागि सरकारले उद्यौग मैत्री वातावरणका साथै दक्ष कामदार उत्पादनमा विशेष ध्यान दिन सके निजि क्षेत्रले प्रगति गर्न सक्ने बताए ।
आत्मनिर्भरताको आधार स्वदेशी उत्पादनको प्रयोग भन्ने नाराका साथ सुरु यस प्रदर्शनीमा १ सय २५ वटा व्यापारीक स्टल रहेका छन् जसमा १५ वटा सिलाइ व्यवसायी, दुई वटा छालावस्तु र बाँकी जुत्ताका स्टल रहेका छन् । यस मेलालाई करिब एक लाख जनाले अवलोकन गर्ने रु दुई करोड बराबरको कारोबार हुने आयोजकको अपेक्षा रहेको छ ।
प्रकाशित: ६ पुष २०७३, बुधबार