
काठमाडौं ।
काठमाडौं, ६ पुस । पहाडी र उच्च पहाडी भेगमा उत्पादित पैँचो पसलका उत्पादनहरु राजधानी काठमाडौमा बिक्री वितरण सुरु गरिएको छ ।
‘बसे पनि शहर गाँउकै खाने रहर’ भन्ने मुल नारालाई आत्मसात गर्दै पहाडी र उच्च पहाडी क्षेत्रमा रहेका कच्चा पदार्थ प्रयोग गर्दै उत्पादित सामाग्रीहरु राजधानीमा बिक्री वितरण सुरु गरिएको हो । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक धु्रव न्यौपानेले राजधानीबासीलाई पनि ग्रामिण भेगका अर्गानिक, उच्च गुणस्तरका स्वादिला उत्पादनहरु पुर्याउन बिक्री वितरण सुरु गरिएको जानकारी दिए ।
पैचो पसलले हाल विभिन्न आठ प्रकारका पैचो अचार, पैचो होल क्यान कर्न, पैचो आटो, पैचो कोदोको पिठो, पैचो टोमेटो केचअप, पैचो जाम, विभिन्न प्रकारका जुसहरु, परम्परामा सीमित सिन्की मस्यौरा जस्ता उत्पादनहरु आफै उत्पादन गरि बजारमा ल्याएको छ । यस्तै, जुम्लाका सिमी, पहाडी जिल्लाका मकैको आटो (च्याँख्ला), जस्ता पहाडी तथा उच्च पहाडी जिल्लाका खाद्य वस्तुहरु प्याकेजिङ गरी बजारमा ल्याएको छ । होल कर्न कर्नर नेपालकै पहिलो उत्पादन हो भने मस्यौरा, सिन्की पैचोले पहिलो पटक व्यवसायीक उत्पादन गरेको जानकारी दिएको छ ।
पहाडी ग्रामीण क्षेत्रका जनताको उत्पादनलाई बजारसम्म पुर्याउने र उपयुक्त बजार प्रवर्धन गर्ने लक्ष्य लिएर दुईवर्ष अगाडि स्थापना भएको हो । पैचो पसलले विगत एक वर्षदेखि गुल्मीको रिडीमा पैचो प्रशोधन उद्योग समेत स्थापना गरेर स्थानीय उत्पादनलाई प्रशोधन गर्न सुरु गरेको थियो । पैचो पसलले गत बैशाखदेखि अत्याधुनिक प्रशोधन कारखानामार्फत २३ प्रकारका खाद्य वस्तु उत्पादन गर्दैआएको छ ।
पैँचोले गुल्मी, पाल्पा, जुम्ला, रुकुम, कालीकोट, रोल्पा र अर्घाखाँचीमा ५० भन्दा बढी संकलन केन्द्रहरु मार्फत किसानहरुको कृषि उत्पादन लिईरहेको जनाएकाे छ ।
प्रकाशित: ६ पुष २०७३, बुधबार