
काठमाडौं ।
नेपाल टेलिकमको आम्दानी तेस्रो त्रैमासमा घटेको छ । कम्पनीले चैतमा समाप्त भएको त्रैमासमा करिब आधा अर्ब रुपैयाँले घटेको हो ।
सो अवधिमा टेलिकमले १० अर्ब ५४ करोड ७५ लाख ४१ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिमा यस्तो आम्दानी ११ अर्ब ९ करोड ७८ लाख ४८ हजार गरेको थियो। यसको अर्थ कम्पनीले गएको त्रैमासमा ५५ करोड ३ लाख ७० हजार रुपैयाँ आम्दानी गुमाएको छ ।
कम्पनीको त्रैमासिक आम्दानी घट्नुका साथै ग्राहकबाट हुने आम्दानी पनि गुमाएको छ।
सो अवधिमा टेलिकमले ग्राहकबाट हुने आम्दानी ९ अर्ब १ करोड २३ लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ। यस्तो आम्दानी सोहि अवधिमा अघिल्लो वर्ष ९ अर्ब ७२ करोड ६४ लाख ३९ हजार रुपैयाँ कमाएको थियो।
सार्वजनिक गरेको वित्तिय प्रतिवेदनअनुसार कम्पनीले चालु आवको सोहि त्रैमासमा ग्राहकहरुसँगबाट हुने आम्दानी करिब ७१ करोड ४० लाख ४३ हजार रुपैयाँ गुमाएको छ।
पछिल्लो समय विवादित व्यक्तिलाई प्रबन्ध निर्देशक(एमडी) नियुक्त गरेसँगै टेलिकमको आम्दानी र नाफा ओरालो लाग्न शुरु गरेको देखिएको छ।
सरकारले टेलिकममा विवादित सुनिल पौडेललाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको छ। तर उनी आएकै त्रैमासदेखि कम्पनी ओरालो लाग्न थालेको तथ्यांकले देखाएको छ।
कम्पनीले ग्राहकबाट हुने आम्दानी गुमाएपनि बैंकको ब्याजबाट हुने आम्दानीमा थोरै सुधार हुँदा समग्र गुमाएको आम्दानी केही कम देखिएको हो।
कम्पनीको त्रैमासिक आम्दानी गुमाएसँगै कम्पनीको नाफा पनि उच्च मात्रामा घटेको देखिएको छ।
टेलिकमको कर भन्दा अगाडिको नाफा २ अर्ब ९९ करोड ५२ लाख ७६ हजार रुपैयाँमा झरेको छ । यसअघिको वर्ष सोहि त्रैमासमा यस्तो आम्दानी ३ अर्ब ७२ करोड ६८ लाख ५० हजार रुपैयाँ रहेको थियो । यस्तो नाफा टेलिकमले सो अवधिमा ७३ करोड १५ लाख ७४ हजार रुपैयाँले कमी बेहोरेको छ।
कम्पनीले नाफा र आम्दानी गुमाएसँगै प्रति शेयर आम्दानी पनि घटेको देखिन्छ। टेलिकमको चालु आवको ईपीएस ४०.२६ रुपैयाँ रहेको छ जबकी अघिल्लो वर्ष ईपीएस ४३.५९ रुपैयाँ रहेको थियो।
कम्पनीको आम्दानी र नाफा घटेपनि कर्मचारीमा हुने लगानी संचालन तथा मर्मत खर्च सो त्रैमासमा उच्च मात्राले बढेको छ। अर्कोतर्फ बिक्री बजारीकरण र प्रबर्द्धन तथा प्रशासनिक खर्च भने घटेको छ।
प्रकाशित: २८ बैशाख २०७९, बुधबार