
काठमाडौं ।
सरकारले इन्टरनेट सेवा प्रदायकहरुलाई विदेशी मुद्रा सटही सुविधाको लागि सहजीकरण गरिदिएसँगै इन्टरनेट सेवा प्रदायकहरुले विदेशी कम्पनीलाई रकम भुक्तानी गर्न सक्ने भएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा बन्द हुनसक्ने इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले चेतावनी दिएपछि शुक्रबारदेखि नै सेवा प्रदायकहरुलाई सहजीकरण गरिदिएको हो। यसका साथै हालका लागि इन्टरनेट सेवा बन्द हुने संभावना टरेको छ।
सम्बन्धित समाचार-
आईसीटी दिवस बहिष्कार गर्ने आईस्पानको घोषणा, चुनावमा इन्टरनेट बन्द हुनसक्ने चेतावनी
तर चुनावपछि आगामी दिनमा फेरी इन्टरनेट सेवा बन्द हुनसक्ने आशंका रहिरहेको आईस्पानले उल्लेख गरेको छ।
मन्त्रालयले सेवा प्रदायकहरुले माग गरेअनुसार नै विदेशी मुद्राको सिफारिस गरिदिएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता विनोद प्रकाश सिंहले जानकारी दिए।
यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले इन्टरनेट सेवा प्रदायकहरुको समस्या समाधान गर्न पहल गर्ने तथा मन्त्रालयले आवश्यक सहजीकरण गर्ने आश्वासन दिएका थिए।
सम्बन्धित समाचार-
इन्टरनेट सेवा प्रदायकहरुलाई सहजीकरण गरिदिने सञ्चारमन्त्रीको आश्वासन
“हामीले इन्टरनेट नै काटिने अवस्था आएपछि सहजीकरण गरिदिईसकेका हौं। र अब उहाँहरुलाई विदेशी मुद्रा सिफारिसको बाटो खुलेको छ,” प्रवक्ता सिंहले टेक्नोलोजीखबरसँग भने ।
उनले सरकारले सेवा प्रदायकहरुलाई सहजीकरण गरिदिने आश्वासन दिएअनुसार नै सिफारिस गरिदिए पनि बेरुजु रकम नतिर्ने भन्ने कुरा नहुने बताए।
“बेरुजु त्यत्तिकै हुने र नतिर्ने अनि काम भईरहने हुँदैन्। उहाँहरुले अब कसरी तिर्ने भन्ने प्रस्ताव ल्याउनुपर्छ,” उनले भने, “उहाँहरुले सहजरुपमा (बेरुजु) तिर्ने वातावरण तयार गर्ने ‘कमिट’ पनि गर्नुभएको छ।”
के बेरुजु तिर्नका लागि किस्ताबन्दी सुबिधा दिने कुरा पनि आएको हो ? भन्ने प्रश्नमा उनले भने, “त्यो बारेमा उहाँहरुले प्रस्ताव ल्याउनुपर्ने हो, कसरी तिर्ने र कहिलेसम्म तिर्ने भन्ने हो ?”
इन्टरनेट सेवा प्रदायक संघ नेपाल आईस्पानका अध्यक्ष सुधिर पराजुलीले हाल मन्त्रालयले सिफारिस दिएसँगै ब्याण्डविथ प्रदायकलाई रकम भुक्तानी दिन बाटो खुलेको जानकारी दिए।
“मन्त्रालयले हामीलाई सिफारिस दिन थालेको छ तर कहिलेसम्म हुन्छ भन्ने कुनै निश्चित छैन्,” अध्यक्ष पराजुलीले भने, “हामीलाई सिफारिस दिएपनि यो चुनावसम्मको लागि मात्र भन्ने कुरा आएको छ। यसले करिब ३ महिनासम्म भुक्तानी हुन्छ त्यसपछि फेरी समस्या आउनसक्दछ।”
उनकाअनुसार चुनावमा इन्टरनेट सेवा नै बन्द हुने अवस्था आएको भन्दै मन्त्रालयले सेवा प्रदायकहरुलाई हाल एक पटकका लागि सिफारिस दिएको बताएको छ।
“हामीलाई चुनावसम्मका लागि मात्र सिफारिस गरिदिएको भन्ने सुनेका छौं,” उनले भने।
यस विषयमा सोध्दा मन्त्रालका प्रवक्ताले पनि सो कुरा पुष्टि गरेका छन् । उनले अहिलेको लागि इन्टरनेट बन्द हुने अवस्था आउन नदिनका लागि सिफारिस गरेको बताए।
“अहिले एक पटकको लागि हामीले इन्टरनेट नै बन्द हुने भएपछि सबै सिफारिस र सहज गरिदिएका हौं। बेरुजू नतिर्ने भन्ने त हुँदैन्,” प्रवक्ता सिंहले भने।
आईस्पानका अध्यक्ष पराजुलीले भने स्थानीय तहको चुनावमा समस्या टरे पनि फेरी ३ महिनापछि रकम भुक्तानी गर्न नसकेको खण्डमा इन्टरनेट सेवा बन्द हुने संभावना रहेको औंल्याए।
“३ महिनापछि के हुन्छ भन्न सकिँदैन्। एक पटकका लागि मात्र भए फेरी सेवा बन्द हुन्छ,” उनले चेतावनी दिए।
हाल इन्टरनेट सेवाको लागि सहजीकरण गरिदिएपनि केबुल टिभी सेवा प्रदायकहरुको सिफारिस भने अहिलेसम्म नभएको उनले जानकारी दिए।
यो पनि हेर्नुस्-
दूरसञ्चार प्राधिकरणको बढुवा प्रकृया विरुद्ध परेको मुद्दाको रिट खारेज
प्रकाशित: २५ बैशाख २०७९, आईतवार