ईसेवाको सञ्चालक पदबाट अस्गर अलीको राजीनामा, नयाँ सञ्चालक केही दिनमा तय हुने

  • Technology Khabar | १६ बैशाख २०७९, शुक्रबार
ईसेवाको सञ्चालक पदबाट अस्गर अलीको राजीनामा, नयाँ सञ्चालक केही दिनमा तय हुने

काठमाडौं ।

नेपालमा मोबाइल वालेट सेवा प्रदान गर्दै आइरहेको ईसेवाका सञ्चालक अस्गर अलीले पदबाट राजीनामा दिएका छन्।

अलीले वैशाख १२ गते अर्थात् गत सोमबारदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् ।

अली यसअघि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि विज्ञ समेत रहेर काम गरिसकेका साथै ईसेवाकै सीईओको भूमिका पनि सफलतापूर्वक निर्वाह गरिसकेका छन्।

यसबाहेक ईसेवालाई नेपालको लोकप्रिय डिजिटल वालेट बनाउन पनि महत्वपूर्ण भूमिका खेल्ने हस्तीहरुमध्येका एक रहेका अली कम्पनीको सञ्चालकको पदबाट मात्रै बाहिरिएको तर उनको शेयर भने यथावत् रहेको एक स्रोतले बताएको छ।

यसै सन्दर्भमा ईसेवा सञ्चालक समितिको बैठकले पूर्व बैंकर परशुराम कुँबर क्षेत्रीलाई कम्पनीको अध्यक्षका रुपमा चयन गरेको छ।

स्रोतका अनुसार अलीको राजीनामा र क्षेत्रीको आगमन उस्तै समयमा भएको भए पनि यी दुवै प्रसङ्ग फरक भएको बताएको छ।

अध्यक्ष चयन भएका क्षेत्रीले केही दिनमा राष्ट्र बैंकसमक्ष पद तथा गोपनीयताको सपथ लिने तथा अलीको स्थानमा आधिकारिक सञ्चालकको जिम्मेवारी कसको काँधमा आउँछ भन्ने केही दिनमा मात्र थाहा हुने ईसेवाले जनाएको छ।

प्रकाशित: १६ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार