भारतीय बजारमा इयरबड, हेडफोन किन्न महँगो, स्मार्टवाच र स्मार्टफोन सस्तो, नेपालमा के असर होला ?

  • Technology Khabar | २० चैत्र २०७८, आईतवार
भारतीय बजारमा इयरबड, हेडफोन किन्न महँगो, स्मार्टवाच र स्मार्टफोन सस्तो, नेपालमा के असर होला ?

काठमाडौं ।

छिमेकी देश भारतमा अप्रिल १ तारिखदेखि नयाँ करको दरहरु लागू भएका छन जसले गर्दा आम मानिसले दैनिक रुपमा प्रयोग गर्ने धेरै वस्तुहरु आजबाट महँगो भएका छन् ।

भारतीय मिडियाहरुकाअनुसार भारतमा अब इयरबड, प्रिमियम हेडफोन, फ्रिज लगायत अन्य धेरै इलेक्ट्रोनिक्स उपकरणका लागि धेरै पैसा खर्च गर्नुपर्नेछ। अर्कोतर्फ, स्मार्टफोन र फिटनेस ब्यान्डको मूल्य भने बजारमा घट्नेछ।

भारतमा वस्तुको कर र भन्सारमा परिवर्तन गरिएको छ। यो बजेट २०२२ को समयमा वित्त मंत्री निर्मला सीतारमणद्वारा घोषणा गरिएको थियो।

जसअनुसार अप्रिल १ देखि मोबाइल चार्जरको ट्रान्सफर्मर पार्ट्स, मोबाइल क्यामरा मोड्युलको क्यामरा लेन्स र अन्य सामानमा ५ देखि १२.५ प्रतिशतसम्म भन्सार छुट दिइएको छ। यसले स्मार्टफोन निर्माणको लागत घटाउनेछ। जब उत्पादन लागत कम हुन्छ, कम्पनीहरूले स्मार्टफोनको मूल्य पनि घटाउन सक्नेछन्।

त्यसैगरी भारतीय बजारमा स्मार्टवाचको मूल्य घट्नेछ। सरकारले स्मार्टवाच उत्पादन गर्ने कम्पनीलाई ३१ मार्च २०२३ सम्म भन्सार छुट दिने घोषणा गरेको छ। यस्तो अवस्थामा स्वदेशी प्लान्टमा उत्पादित स्मार्टवाचको मूल्य घट्ने भएको छ।

स्मार्टवाचहरू जस्तै, फिटनेस ब्यान्डहरूले पनि मूल्यमा कटौती देख्न सक्छ। फिटनेस ब्यान्डहरू पनि स्मार्टवाच श्रेणीको हिस्सा हुन्। यस्तो अवस्थामा यसलाई उत्पादन गर्ने सबै कम्पनीले मार्च ३१, २०२३ सम्म भन्सारमा छुटको लाभ पाउनेछन् ।

तर यस बाहेक अन्य डिभाइसहरुको मूल्य बढ्दैछ। जसमा वायरलेस इयरबडहरू महँगो हुनेछन् । इयरबड उत्पादनमा प्रयोग हुने पार्टपुर्जाको आयात शुल्क भारतले बढाएको छ। यस्तो अवस्थामा इयरबडको उत्पादन मूल्य बढ्न सक्छ। उत्पादन लागत बढेसँगै वायरलेस इयरबड, नेकब्यान्डको मूल्य पनि बढ्नेछ। यसअन्तरगत प्रिमियम हेडफोन पनि महँगो हुनेछ ।
भारतीय सरकारले प्रिमियम हेडफोनको आयातमा २० प्रतिशतभन्दा बढी भन्सार लगाउने घोषणा गरेको छ। यस्तो अवस्थामा, आयातित प्रिमियम हेडफोनको लागि प्रयोगकर्ताहरूले उच्च मूल्य तिर्नुपर्नेछ।

ग्याजेटहरुका साथसाथै इलेक्ट्रोनिक्स वस्तुहरुको समेत मूल्य बढ्ने भएको छ। भारतमा रेफ्रिजेरेटर अर्थात फ्रिजको मूल्यमा वृद्धि हुने भएको छ।सरकारले २०२२ को बजेटमा फ्रिजमा प्रयोग हुने कम्प्रेसर र अन्य पार्टपुर्जाको आयात शुल्क बढाउने घोषणा गरेको थियो, जुन अप्रिल १ देखि लागू भएको छ। जसले गर्दा तिनीहरूको मूल्य बढ्ने संभावना छ।

नेपाली बजारलाई भारतीय वस्तुहरुमा हुने मूल्य वृद्धि र कमीले प्रत्यक्ष वा अप्रत्यक्ष असर पार्ने गर्दछ। नेपालमा आयात हुने ग्याजेटहरु तथा इलेक्ट्रोनिक्स वस्तुहरु भारतमा नै उत्पादन हुने गरेको र त्यस्ता वस्तुहरु आयात हुँदा त्यसले असर पार्दछ। भारतमा मूल्य परिवर्तनले भारतीय ब्राण्डका डिभाइस तथा सामग्रीहरुमा असर पार्ने हुँदा त्यसले नेपाली उपभोक्ताहरुको गोजीमा पनि असर पार्नेछ।

तर बाहिरी देशहरुबाट सिधै आयात हुने ग्याजेटहरु तथा इलेक्ट्रोनिक्स वस्तुहरुमा भने कुनै असर पर्नेछैन्।

प्रकाशित: २० चैत्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार