
काठमाडौं ।
श्रीलंकाको सरकारले खाद्यान्न र इन्धन अभावको विरूद्ध विरोध प्रदर्शनपछि सामाजिक सञ्जालमा पहुँच बन्द गरेको छ र ३६ घण्टाको कर्फ्यू लगाएको छ।
राष्ट्रपति गोटाबाया राजापाक्षेले अधिकारीहरूको लिखित अनुमति बाहेक कुनै पनि सार्वजनिक सडकमा, पार्कमा, रेलमा वा समुद्री किनारमा जान निषेध गर्ने सूचना जारी गरेका छन्।
श्रीलंकामा शनिबार साँझबाट कर्फ्यू सुरु भएको हो।
ब्लक गरिएका सामाजिक सञ्जाल फेसबुक, ट्विटर र इन्स्टाग्राम रहेको बीबीसीले जनाएको छ।
यसका साथै ह्वाट्सएप पनि बन्द छ, र मोबाइल फोन प्रयोगकर्ताहरूले “दूरसञ्चार नियामक आयोगद्वारा निर्देशित” थियो भन्ने सन्देश प्राप्त गरेको बताईएको छ।
बिहीबार राष्ट्रपतिको निजी निवास नजिकै भीडले सवारीसाधनमा आगजनी गरेको आरोप लागेपछि नयाँ प्रदर्शनलाई रोक्न कडा प्रतिबन्धहरू लगाइएको हो।
पछिल्लो समय श्रीलङ्कामा चरम आर्थिक सङ्कट निम्तिएको छ। देशमा दैनिक १२ घण्टाभन्दा बढी समय लोडसेडिङ छ। इन्धन तथा अत्यावश्यक खानेकुरा र औषधिको अभावमा सर्वसाधारण मानिसहरू आक्रोशित छन्।
प्रकाशित: २० चैत्र २०७८, आईतवार