काठमाडौं ।
चिनियाँ स्टार्टअप डेक्सफोर्सले भर्चुअल वातावरणमा तयार पारिएको कृत्रिम डाटाको प्रयोग गरी ह्युमनोइड रोबोटलाई तालिम दिइरहेको छ। कम्पनीले यस विधिबाट रोबोटको तालिम खर्च घटाउने र वास्तविक काम गर्न सक्ने क्षमता छिटो विकास गर्ने लक्ष्य राखेको छ।
चीनको प्रविधि केन्द्र सेन्जेनमा रहेको डेक्सफोर्सले भर्चुअल वातावरणमा रोबोटलाई विभिन्न कामको अभ्यास गराउँछ। यस क्रममा टेबलको कोण, रङ र वस्तुहरू परिवर्तन गरेर रोबोटलाई एउटै काम फरक परिस्थितिमा गर्न सिकाइन्छ।
चीनले दौडने र उफ्रने क्षमतामा मानिसलाई समेत उछिन्न सक्ने ह्युमनोइड रोबोट विकास गरिसकेको छ। तर उद्योग, कार्यालय र घरमा मानिसको सहयोगबिना भरपर्दो ढङ्गले काम गर्न सक्ने बनाउनु रोबोट निर्माता कम्पनीहरूका लागि अझै चुनौतीपूर्ण छ।
धेरै चिनियाँ रोबोट निर्माता कम्पनीले वास्तविक काम गरिरहेका मानिसको गतिविधिबाट ठूलो मात्रामा डाटा सङ्कलन गरेर रोबोटलाई तालिम दिइरहेका छन्। डेक्सफोर्सले भने भर्चुअल वातावरणमा सिर्जना गरिने कृत्रिम डाटाको प्रयोगबाट खर्च घटाउने र तालिमलाई प्रभावकारी बनाउने रणनीति लिएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत जिया कुईले रोयटर्ससँग कुरा गर्दै यो विधिले रोबोटको क्षमता विकासमा ठूलो फड्को मार्न सहयोग गर्न सक्ने बताए। सन् २०२२ मा सार्वजनिक भएको च्याटजीपीटीले जेनेरेटिभ एआईको प्रयोग विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेझैँ रोबोटको क्षमतामा पनि उल्लेखनीय परिवर्तन आउन सक्ने उनको भनाइ छ।
“वास्तविक संसारबाट मात्र डाटा सङ्कलन गरेर भौतिक कृत्रिम सामान्य बुद्धिमत्ता (फिजिकल एजीआई) हासिल गर्न १० ट्रिलियन नमुना आवश्यक पर्न सक्छ,” जियाले भने। उनका अनुसार मानिसले गर्न सक्ने असङ्ख्य कामका लागि म्यानुअल रूपमा डाटा सङ्कलन गर्नु आधारभूत रूपमै प्रभावकारी विधि होइन।
फिजिकल एजीआई भन्नाले अपरिचित वातावरणमा नयाँ काम गर्न निर्देशन दिँदा पनि ह्युमनोइड रोबोटले त्यो काम पूरा गर्न सक्ने क्षमतालाई जनाउँछ। यस्तो क्षमता हासिल गर्न रोबोटले वरपरको वातावरण बुझ्ने, बाटो पहिचान गर्ने र फरक परिस्थितिअनुसार आफ्नो व्यवहार परिवर्तन गर्न सक्ने एआई प्रणाली आवश्यक हुन्छ।
डेक्सफोर्सले भौतिक वातावरणको नक्कल तयार गर्ने र वस्तुहरू कसरी चल्छन् वा एकअर्कासँग अन्तरक्रिया गर्छन् भन्ने अनुमान गर्न सक्ने मोडलसहितको एआई सफ्टवेयर विकास गर्छ। यसले कार्यस्थल वा कामको डिजिटल प्रतिरूप बनाउँछ, त्यही वातावरणमा रोबोटलाई तालिम दिन्छ र सिकेको सीप वास्तविक रोबोटमा प्रयोग गर्छ।
कम्पनीका अनुसार यो विधि मानिसलाई बारम्बार एउटै गतिविधि गर्न लगाएर डाटा सङ्कलन गर्नुभन्दा छिटो र सस्तो हुन्छ। सही नमुना तयार गर्न मानिसले एउटै गतिविधि १०० पटकभन्दा बढी दोहोर्याउनुपर्ने अवस्था पनि हुन सक्छ।
चीनभर अहिले रोबोटलाई तालिम दिन दर्जनौँ केन्द्र निर्माण भइरहेका छन्। यस्ता केन्द्र निर्माणमा ठूलो खर्च लाग्ने र सरकारी अनुदानमा समेत निर्भर रहनुपर्ने अवस्था छ। अधिकांश चिनियाँ रोबोट निर्माता कम्पनीले भने भर्चुअल र वास्तविक संसार दुवैबाट प्राप्त डाटा प्रयोग गर्छन्। उच्च गुणस्तरको तालिम डाटा उपलब्ध गराउनु अझै प्रमुख चुनौती रहेको उनीहरूको भनाइ छ।
प्रकाशित: १ कार्तिक २०८३, शनिबार