भारतमा ‘रील्स-फर्स्ट’ अनुभव परीक्षण गर्दै फेसबुक

  • Technology Khabar | २२ आश्विन २०८३, बिहीबार
भारतमा ‘रील्स-फर्स्ट’ अनुभव परीक्षण गर्दै फेसबुक

काठमाडौं ।

मेटाले भारतमा फेसबुकको नयाँ प्रयोगकर्ता इन्टरफेस परीक्षण सुरु गरेको छ। यसअन्तर्गत केही प्रयोगकर्ताले एप खोल्नेबित्तिकै पूर्ण स्क्रिनमा भिडियो देख्नेछन्। यसले फेसबुकमा रील्स लाई प्रमुख स्थानमा राख्नेछ।

टेकक्रञ्चका अनुसार फेसबुकका प्रमुख  टम एलिसनले जुलाईमा पहिलोपटक उल्लेख गरेको यो परीक्षण भिडियोमा केन्द्रित अझ बढी सहज प्रयोगकर्ता अनुभव उपलब्ध गराउने उद्देश्यले गरिएको हो।

त्यसबेला  एलिसनले अमेरिकाबाहिरका “भिडियो बढी हेरिने देशहरू” मा वर्षको अन्त्यतिर यसको परीक्षण सुरु गर्ने मेटाको योजना रहेको बताएका थिए। तर उनले कुन देशमा परीक्षण हुने भन्ने खुलाएका थिएनन्।

उनका अनुसार कम्पनीले अर्को वर्ष अमेरिकामा पनि यस्तो प्रयोगकर्ता अनुभव ल्याउने विषयमा अध्ययन गर्नेछ।

परीक्षणमा समावेश प्रयोगकर्ताले चाहेमा यसबाट बाहिरिएर पुरानै फीड-फर्स्ट अनुभवमा फर्किन सक्ने मेटाले जनाएको छ। फेसबुक एपमा पुरानो फिड दोस्रो ट्याबका रूपमा उपलब्ध रहनेछ।

यो परीक्षण फेसबुकमा भिडियोलाई अझ महत्वपूर्ण बनाउने मेटाको प्रयासका क्रममा आएको हो। गत वर्ष कम्पनीले फेसबुकमा पोस्ट गरिने सबै नयाँ भिडियो भिडियोको लम्बाइ वा ढाँचा जस्तोसुकै भए पनि रील्सका रूपमा सेयर हुने बताएको थियो।

कम्पनीले एपको भिडियो ट्याबको नामसमेत “रील्स” राखेको थियो। मेटाका अनुसार युवा वयस्कहरूले फेसबुकमा बिताउने समयमध्ये करिब ६० प्रतिशत भिडियो हेर्नमा खर्च गर्छन्।

भारत लामो समयदेखि मेटाका भिडियोसम्बन्धी प्रयास, विशेषगरी छोटो भिडियोतर्फको विस्तारका लागि परीक्षणस्थल रहँदै आएको छ। सन् २०२० मा भारतले टिकटक प्रतिबन्ध लगाएपछि केही महिनामै इन्स्टाग्रामले भारतमा छुट्टै रील्स ट्याबको परीक्षण सुरु गरेको थियो।

गत वर्ष कम्पनीले भारत र दक्षिण कोरियाका केही इन्स्टाग्राम प्रयोगकर्ताका लागि रील्स-फर्स्ट अनुभवको पनि परीक्षण गरेको थियो। त्यसमा पनि एप खोल्नेबित्तिकै प्रयोगकर्तालाई भिडियोमा आधारित इन्टरफेसमा लगिन्थ्यो।

भारतमा मेटाका विभिन्न एपमा भिडियो हेर्ने क्रम बढिरहेका बेला नयाँ परीक्षण सुरु गरिएको हो। मेटाको अनुरोधमा गरिएका अध्ययनमा सहभागीमध्ये कम्तीमा ९७ प्रतिशतले आफूले मेटाका प्लेटफर्ममा दैनिक भिडियो हेर्ने गरेको बताएका छन्।

कम्पनीले जुनमा सार्वजनिक गरेको तथ्यांकअनुसार जेन जी समूहका ८९ प्रतिशत उत्तरदाताले दैनिक रील्स प्रयोग गर्छन्। मेटाले रील्स भारतमा क्रमशः प्रयोगकर्ताको “व्यक्तिगत र प्राथमिक स्क्रिन” बन्दै गएको बताएको छ।

प्रयोगकर्ताको संख्याका आधारमा भारत फेसबुकको सबैभन्दा ठूलो बजार हो। मेटाका विज्ञापन उपकरणअनुसार भारतमा फेसबुकको सम्भावित दर्शक संख्या ४० करोडभन्दा बढी छ।

प्रकाशित: २२ आश्विन २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार