नेपाल टेलिकमका कर्मचारीहरूको तर्फबाट उद्धार कोषमा दुई करोड दुई लाख रुपैयाँ जम्मा

  • Technology Khabar | २२ भाद्र २०८३, सोमबार
नेपाल टेलिकमका कर्मचारीहरूको तर्फबाट उद्धार कोषमा दुई करोड दुई लाख रुपैयाँ जम्मा

काठमाडौं ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल टेलिकममा हाल कार्यरत सम्पूर्ण कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड दुई लाख छब्बिस हजार छैसठ्ठी रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ।

भदौ २२ गते नेपाल टेलिकमका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट एक कार्यक्रमका बिच प्रबन्ध निर्देशक संगीता पहाडी -अर्यालले उक्त सहयोग रकम माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिन्।

रकम हस्तान्तरण कार्यक्रममा नेपाल टेलिकम सञ्चालक समितिका सदस्य एवम् अर्थ मन्त्रालयका सहसचिव टंक प्रसाद पाण्डेय, सञ्चालक समिति सदस्य -कर्मचारी प्रतिनिधि) लोक बहादुर कटुवाल, प्रमुख वित्तीय अधिकृत द्वारिका प्रसाद पौडेल र प्रमुख मानव संसाधन अधिकृत निर्झर भट्टराईको समेत उपस्थिति थियो।

यसअघि पनि बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक विपद्का समयमा कम्पनीमा कार्यरत कर्मचारीहरूले व्यक्तिगत तथा सामूहिक रूपमा आर्थिक सहयोग गर्दै आएका थिए।

विपद्बाट प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले नेपाल टेलिकमका विभिन्न तहमा कार्यरत कर्मचारीहरूको तलवबाट तहगत योगदानका आधारमा रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । यस सहयोगले विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका कार्यमा केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपाल टेलिकमले संस्थागतरुपमा कम्पनीको तर्फबाट समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छुट्टै रकम केही दिनभित्रै उपलब्ध गराउने जानकारी दिएको छ।

प्रकाशित: २२ भाद्र २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार