मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड

  • Technology Khabar | २१ भाद्र २०८३, आईतवार
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड

काठमाडौं ।

मिड भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।

मिड भ्याली इन्टरनेसनल कलेजले ‘डिजिटल ट्रान्सफर्मेसन एन्ड इनोभेसनः शेपिङ द फ्युचर अफ बिजनेस, टेक्नोलोजी एन्ड हस्पिटालिटी’ विषयमा आयोजना गरेको एकदिने राष्ट्रिय सम्मेलनमा अनुसन्धान, प्रविधि, कृत्रिम बौद्धिकता, पर्यटन, डिजिटल वित्तीय सेवा तथा आतिथ्य क्षेत्रको विकास र त्यसले पार्ने प्रभावका विषयमा छलफल गरिएको हो।

कार्यक्रममा कलेजकी अध्यक्ष रितल राणाले अनुसन्धानले पछिल्ला दिनमा नयाँ–नयाँ ज्ञान, प्रविधि र आविष्कारको सम्भावना बढाउँदै लगेको बताइन्। पछिल्लो समय विश्वमा विभिन्न प्रकारका प्रविधिको तीव्र विकास भइरहेको उल्लेख गर्दै उनले त्यसको सही र आवश्यकताअनुसार प्रयोग गर्नुपर्नेमा जोड दिइन्।

उनले भनिन्, ‘अनुसन्धानबाट प्राप्त ज्ञान र निष्कर्षलाई व्यवहारमा प्रयोग गर्न सके मात्रै त्यसको वास्तविक उपलब्धि देखिने र समाजका लागि त्यसले योगदान पु¥याउने छ।’

राणाले कलेजबाट भइरहेका अनुसन्धान आगामी दिनमा देशका विभिन्न क्षेत्रमा उपयोग गर्न सकिने खालका हुनुपर्ने बताइन्। विद्यार्थी तथा अनुसन्धानकर्तालाई नयाँ विषयमा खोज गर्न प्रोत्साहित गर्दै उनले अनुसन्धान र नवप्रवर्तनलाई संस्थागत रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिइन्।

कलेजका रिसर्च हेड डा. पदम डंगोलले भने, ‘सम्मेलन अनुसन्धानकर्ताले आफ्नो अनुसन्धान प्रस्तुत गर्ने ठाउँ मात्र नभई एकअर्काबाट सिक्ने, नयाँ विचार आदानप्रदान गर्ने र भविष्यका अनुसन्धानका लागि आधार तयार गर्ने माध्यम पनि हो। अहिले गरिएको अनुसन्धानको परिणाम भविष्यमा केही न केही नयाँ कुराको विकासका लागि उपयोगी हुन्छ। अनुसन्धानको माध्यमबाट विद्यार्थीमा नयाँ सोचको विकास हुने र उनीहरूको आत्मविश्वास तथा क्षमता अभिवृद्धि हुन्छ।

डा. डंगोलले आगामी वर्ष मिड भ्याली कलेजको सम्मेलनलाई राष्ट्रियबाट अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने तयारी रहेको जानकारी दिए। त्यसका लागि स्वदेश तथा विदेशका अनुसन्धानकर्ता, विज्ञ तथा प्राज्ञिक क्षेत्रका व्यक्तिलाई सहभागी गराउने गरी सम्मेलनको दायरा फराकिलो बनाउने उनले बताए।

यसैगरी, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. सतीशकुमार ओझाले दिगो विकासका लागि नयाँ प्रविधिको प्रयोग अपरिहार्य बन्दै गएको उल्लेख गर्दै प्रविधिलाई केवल आधुनिकताको प्रतीकका रूपमा नभई उत्पादनशीलता बढाउने, सेवा सहज बनाउने र मानिसको जीवनलाई सरल बनाउने माध्यमका रूपमा प्रयोग गर्नुपर्ने बताए।

‘कुनै काम गर्दा सुरुमै सबै कुरा सही हुन्छ भन्ने हुँदैन। गर्दै जाँदा सिकिन्छ र त्यसबाट राम्रो परिणाम निकाल्न सकिन्छ,’ उनले भने। एआईको तीव्र विकासका कारण मानिसको रोजगारी नै समाप्त हुने हो कि भन्ने चिन्ता बढिरहेको भए पनि त्यसबाट अनावश्यक रूपमा डराउनुपर्ने अवस्था नरहेको ओझाले बताए। उनका अनुसार एआईले मानिसलाई पूर्ण रूपमा विस्थापित गर्नेभन्दा पनि मानिसले गरिरहेका कामलाई सहज र प्रभावकारी बनाउन सहयोग गर्नेछ।

नर्सिङ, अध्यापन, काउन्सिलिङ तथा यात्रालगायतका क्षेत्रमा मानवीय संवेदना, अनुभव र प्रत्यक्ष अन्तरक्रिया आवश्यक हुने भएकाले त्यस्ता कामलाई एआईले पूर्ण रूपमा प्रतिस्थापन गर्न नसक्ने उनले बताए।

इलेक्ट्रिक भेहिकल ब्याट्री, डिजिटल भुक्तानी सेवा, डिजिटल वित्तीय सेवा, सार्वजनिक यातायात, डिजिटल वालेट, डिजिटल साक्षरता, इन्सुरटेक, मेसिन लर्निङ, स्वास्थ्य अभिलेख व्यवस्थापन, डिजिटल स्वास्थ्य, सूचना सुरक्षा तथा गोपनीयता, कर्पोरेट गभर्नेन्स र डिजिटल उद्यमशीलतासम्बन्धी अनुसन्धानपत्रसमेत प्रस्तुत गरिएको आयोजकले जानकारी दिएको छ।

प्रकाशित: २१ भाद्र २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार