टिकटकले प्रयोगकर्तालाई सहज बनाउने उद्देश्यले नयाँ फिचर सार्वजनिक

  • Technology Khabar | २१ भाद्र २०८३, आईतवार
टिकटकले प्रयोगकर्तालाई सहज बनाउने उद्देश्यले नयाँ फिचर सार्वजनिक

काठमाडौं ।

टिकटकले प्रयोगकर्तालाई सहज बनाउने उद्देश्यले केही नयाँ फिचर सार्वजनिक गरेको छ। नयाँ फिचरअन्तर्गत प्रयोगकर्ताले भिडियोको कमेन्ट सेक्सनमा आफ्नै आवाजमा प्रतिक्रिया अर्थात् भ्वाइस कमेन्ट राख्न सक्नेछन्।

भ्वाइस कमेन्टमा ६० सेकेन्डसम्मको अडियो सन्देश राख्न सकिनेछ। कमेन्टमा राखिएको आवाजलाई अन्य प्रयोगकर्ताले ट्याप गरेर सुन्न सक्नेछन्।

यद्यपि, ठूलो संख्यामा भ्वाइस कमेन्ट आउँदा कमेन्ट बक्स अस्तव्यस्त हुन सक्ने सम्भावना रहेको छ। यसको वास्तविक प्रभाव कस्तो हुन्छ भन्ने कुरा प्रयोगमा आएपछि मात्र स्पष्ट हुनेछ। टिकटकका अनुसार १८ वर्ष वा सोभन्दा माथिका प्रयोगकर्ताका लागि यो फिचर आगामी महिनाभित्र उपलब्ध गराउन सुरु गरिनेछ।

त्यस्तै टिकटकले क्रिएटरहरूका लागि कमेन्ट पोलको सुविधा पनि थपेको छ। अब क्रिएटरहरूले आफ्ना पोस्टको कमेन्ट सेक्सनमै पोल सिर्जना गर्न सक्नेछन्। पोलमा पाँचवटासम्म विकल्प राख्न सकिनेछ भने त्यसको नतिजा समेत सिधै हेर्न सकिनेछ। यो सुविधा विश्वभरका प्रयोगकर्ताका लागि अहिले नै उपलब्ध रहेको टिकटकले जनाएको छ।

टिकटकले यसअघि लाइभ र स्टिकरमार्फत पनि पोलको सुविधा प्रयोगमा ल्याएको थियो। अहिले भने कमेन्ट सेक्सनमै सहज रूपमा पोल राख्न सकिने सुविधा थपिएको हो। यसैगरी, टिकटकले फोटो कमेन्टसँग सम्बन्धित नयाँ सुविधा पनि थपेको छ। अब प्रयोगकर्ताले कमेन्टमा लाइभ फोटो राख्न सक्नेछन्।

यो सुविधा हाल सबै प्रयोगकर्ताका लागि उपलब्ध भइसकेको छ। त्यस्तै, एउटै कमेन्टमा नौ वटासम्म फोटो राख्न सकिने सुविधा पनि ल्याइँदैछ। यो सुविधा आगामी महिनाभित्र सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने बताइएको छ।

प्रकाशित: २१ भाद्र २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...