पालिका हुलाक ‘स्मार्ट हुलाक’ मा रुपान्तरण

  • Technology Khabar | १९ भाद्र २०८३, शुक्रबार
पालिका हुलाक ‘स्मार्ट हुलाक’ मा रुपान्तरण
एआईमार्फत् बनाइएको सांकेतिक तस्बिर

काठमाडौं ।

स्याङ्जाको वालिङस्थित पालिकास्तरीय हुलाकलाई ‘स्मार्ट हुलाक’मा रुपान्तरण गरिएको छ।

नेपाल सरकारले देशभरका ५० वटा हुलाकलाई स्मार्टमा रुपान्तरण गर्ने योजनासँगै वालिङलाई स्मार्ट हुलाकमा विकसित गरिएको हो।

हुलाकले प्रदान गर्दै आएको सेवालाई ‘डिजिटलाइज’ प्रविधिबाट अझै प्रभावकारी रुपमा अगाडि बढाइएको जिल्ला हुलाक कार्यालयका प्रमुख गुरुप्रसाद मरासिनीले जानकारी दिए।

“हुलाक कार्यालयबाट अहिले भइरहेका कार्यलाई अझै प्रविधिमैत्री, छिटो छरितो र डिजिटल तरिकाले काम गर्ने प्रक्रियानै स्मार्ट हुलाकको उद्देश्य हो”, उनले भने, “यसमा सेवाग्राहीले आफूले पठाएको चिठी कतिबेला कहाँ पुग्यो भनेर आफैँले हेर्न मिल्छ, जसबाट अझै सहज र विश्वसनीय हुने देखिन्छ।”

स्मार्ट हुलाकलाई भौतिक पूर्वाधार विकास, आधुनिक यन्त्र उपकरणको व्यवस्थापन, डिजिटल सुरक्षा, ट्रयाकिङ प्रणालीको व्यवस्थासँगै सेवालाई प्रविधिमैत्री बनाइने उनले जानकारी दिए।

उक्त हुलाकबाट हुँदै आएका हस्तलिखित तथा कागजी प्रक्रियालाई विस्थापित गर्दै डिजिटल र प्रविधिमैत्री तरिकाले सेवा दिने गरी विकास गर्दै लगिएको पालिकास्तरीय हुलाक कार्यालय वालिङका प्रमुख राहुल विकले बताए।

पुरानो तरिकाले तथ्याङ्क ढड्डामा राख्ने परिपाटीको क्रमशः अन्त्य गर्दै डिजिटल माध्यमबाट अझै विश्वसनीय, छिटो छरितो र भरपर्दो माध्यमको रुपमा विकसित गर्ने काम भइरहेको जानकारी दिइएको छ। स्याङ्जामा एक जिल्ला हुलाक, दश वटा पालिकास्तरीय र ३८ वटा अतिरिक्त हुलाक छन्।-रासस

प्रकाशित: १९ भाद्र २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार