महाकाली तटीय क्षेत्रमा ह्वाट्सएप समूह बनाएर बाढीको पूर्वसूचना दिइँदै

  • Technology Khabar | १९ भाद्र २०८३, शुक्रबार
महाकाली तटीय क्षेत्रमा ह्वाट्सएप समूह बनाएर बाढीको पूर्वसूचना दिइँदै

काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय बैतडीले महाकाली नदी तटीय क्षेत्रका समुदायलाई समयमै विपद्सम्बन्धी पूर्वसूचना दिने उद्देश्यले ह्वाट्सएप समूह सञ्चालनमा ल्याएको छ।

समूहमा महाकाली नदी तटीय क्षेत्रका बासिन्दा, जिल्लास्थित सुरक्षा निकाय, सञ्चारकर्मी, रेडक्रस तथा विपद् क्षेत्रमा काम गर्दै आएका गैरसरकारी संस्थालाई समेटिएको छ। जिल्ला प्रशासन कार्यालयको अगुवाइमा विपद्बारे समुदायलाई पूर्वसूचना दिने काम भइरहेको गैरसरकारी संस्था रुड्सका कार्यकारी निर्देशक गोविन्दराज जोशीले जानकारी दिए।

उनका अनुसार महाकाली नदीमा पानीको बहाव बढेको सूचना प्राप्त हुनेबित्तिकै ह्वाट्सएप समूहबाट समुदायस्तरसम्म जानकारी पुर्‍याउने गरिएको छ।

हाल महाकाली नदी धमिलो पानीसहित उर्लिएको छ। मंगलबारदेखि बुधबार बिहानसम्म मुल्लाघाट जिरोपोइन्ट नजिक पहिरो खसिरहेको स्थानीय जयसिंह भाटले बताए। उनका अनुसार पहिरोले बाटो अवरुद्ध भएपछि नेपाल–भारतबीचको आवागमनसमेत प्रभावित भएको छ।

नदीको सतह बढेर जोखिम निम्तिन सक्ने अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय बैतडीले नदी तटीय क्षेत्रका बासिन्दा तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन्।

पहिरोका कारण सडक अवरुद्ध भएपछि तत्काल सवारीसाधन चलाउन नमिल्ने भएकाले यात्रु हिँडडुल गर्न मिल्ने गरी बाटो खुलाउन सडक डिभिजन कार्यालय र सुरक्षा निकायलाई अनुरोध गरिएको उनले बताइन्।

भुल्लाघाटमा पहिरो, आवागमन अवरुद्ध

लगातारको वर्षासँगै बैतडीको भुल्लाघाटमा पहिरो खस्दा नेपाल–भारत सीमा क्षेत्रको आवागमन अवरुद्ध भएको छ। भुल्लाघाट जाने सडकमा लेदो तथा ठूलो पहिरो खसेपछि बाटो बन्द भएको हो।

महाकाली नदीमा पानीको बहाव बढिरहेका बेला पहिरोको जोखिमसमेत बढेकाले नदी तटीय तथा पहिरो प्रभावित क्षेत्रमा सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

राति सवारी चलाउन रोक

बैतडी जिल्ला प्रशासन कार्यालयले ग्रामीण कच्ची सडकमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। सडक दुर्घटना तथा बाढीपहिरोको जोखिम बढेकाले बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन चलाउन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन्।

आजको गोरखापत्रबाट

 

प्रकाशित: १९ भाद्र २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार