वैज्ञानिकले डार्क म्याटरको पहिलो प्रत्यक्ष प्रमाण फेला पारेको हुन सक्ने सम्भावना

  • Technology Khabar | १९ भाद्र २०८३, शुक्रबार
वैज्ञानिकले डार्क म्याटरको पहिलो प्रत्यक्ष प्रमाण फेला पारेको हुन सक्ने सम्भावना

काठमाडौं ।

वैज्ञानिकहरूले डार्क म्याटर अर्थात् अँध्यारो पदार्थको पहिलो प्रत्यक्ष प्रमाण फेला पारेको हुन सक्ने बताएका छन्। यो सम्भावित खोज लक्स जेपलिन  प्रयोगबाट प्राप्त भएको हो। प्रयोगका क्रममा डार्क म्याटरका लागि प्रमुख अनुमानित कणमध्ये एक कमजोर रूपमा अन्तरक्रिया गर्ने ठूलो द्रव्यमान भएको कण (डब्लूआईएमपी) र सामान्य पदार्थको कणबीच भएको हुन सक्ने एउटा अन्तरक्रिया भेटिएको हो।

डार्क म्याटर वैज्ञानिकका लागि लामो समयदेखि रहस्य बनेको छ। ब्रह्माण्डको कुल पिण्डमध्ये करिब ८५ प्रतिशत डार्क म्याटरले ओगटेको मानिन्छ। तर वैज्ञानिकलाई यो वास्तवमा केबाट बनेको हो भन्ने अझै थाहा छैन।

डार्क म्याटरले विद्युत् चुम्बकीय विकिरण अर्थात् प्रकाशसँग अन्तरक्रिया नगर्ने भएकाले यो ताराहरू, ग्रह, चन्द्रमा, हाम्रो शरीर र वरिपरि देखिने सबै वस्तु बनाउने इलेक्ट्रोन, प्रोटोन र न्युट्रोनबाट बनेको हुन सक्दैन।

यसले वैज्ञानिकलाई कण भौतिकशास्त्रको ‘स्ट्यान्डर्ड मोडल’भन्दा बाहिरका नयाँ प्रकारका कणको खोजी गर्न प्रेरित गरेको छ। अहिलेसम्म यस्तो खोजबाट ठोस परिणाम प्राप्त हुन सकेको थिएन। तर लक्स जेपलिन प्रयोगले सम्भावित रूपमा पहिलो संकेत फेला पारेको हुन सक्छ।

लाइभसाइन्सका अनुसार दक्षिण डकोटास्थित स्यानफोर्ड अन्डरग्राउन्ड रिसर्च फ्यासिलिटीमा जमिनमुनि करिब १.६ किलोमिटर गहिराइमा राखिएको लक्स जेपलिन डिटेक्टरमा १० टन अति शुद्ध तरल जेनन प्रयोग गरिएको छ। यसबाट प्राप्त डेटाको विश्लेषण गर्दा वैज्ञानिकले सामान्य पदार्थबाट आउने ज्ञात पृष्ठभूमि संकेतले व्याख्या गर्न नसकिने एउटा कणीय अन्तरक्रिया फेला पारेका छन्।

बेलायतको युनिभर्सिटी अफ ब्रिस्टलका अनुसन्धान टोलीका नेता साम एरिक्सनले भने, “यो हाम्रो डेटासेटभित्र यसअघि अध्ययन नगरिएको क्षेत्रमा गरिएको विस्तृत अध्ययन थियो। पृष्ठभूमि घटनाका सम्भावित कारण बुझ्न हामीले थप महिनौं काम गर्‍यौं।”

“हामीले आफ्नो डिटेक्टर र पृष्ठभूमि संकेतलाई यति राम्रोसँग बुझेका छौं कि हामीले फेला पारेको जस्तो एउटा मात्र असामान्य घटना पनि महत्वपूर्ण हुन्छ,” उनले भने।

यदि टोलीले पत्ता लगाएको घटना दुई डब्लूआईएमपी बीचको दुर्लभ अन्तरक्रियाका कारण भएको हो भने यसले यी हालसम्म अनुमानमा रहेका कणबारे केही महत्वपूर्ण जानकारी दिन सक्छ।

पहिलो, प्राप्त संकेतले डब्लूआईएमपीको द्रव्यमान प्रोटोनको भन्दा करिब २०० गुणा बढी हुने देखाउँछ। यसले डब्लूआईएमपीले सामान्य पदार्थसँग पहिलेको सरल मोडलले अनुमान गरेभन्दा फरक तरिकाले अन्तरक्रिया गर्ने संकेत पनि दिएको छ।

तर यी परिणाम अहिलेसम्म निश्चित भने छैनन्। एउटा मात्र सम्भावित संकेतले डब्लूआईएमपी र सामान्य पदार्थको कणबीच वास्तवमै अन्तरक्रिया भएको पुष्टि गर्न पर्याप्त सांख्यिकीय प्रमाण दिएको छैन। यो घटना ज्ञात पृष्ठभूमि कारणबाट भएको हुन सक्ने सम्भावना अझै ०.५ प्रतिशत रहेको छ।

लक्स जेपलिनले डार्क म्याटरसम्बन्धी अहिलेसम्मकै ठूलो डेटासेट संकलन गरिरहेकाले थप डेटा प्राप्त भएपछि अनुसन्धान टोलीले यो घटनाको महत्व बढ्छ वा घट्छ भन्ने निर्धारण गर्नेछ।

डब्लूआईएमपी र सामान्य पदार्थबीचको अन्तरक्रिया अत्यन्त दुर्लभ हुने भएकाले यस्ता केही घटना मात्र भेटिए पनि डब्लूआईएमपी डार्क म्याटरको अस्तित्व पुष्टि गर्न पर्याप्त हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्। यसले ब्रह्माण्डको सबैभन्दा रहस्यमय पदार्थ केबाट बनेको छ भन्ने प्रश्नको उत्तर दिन सक्नेछ।

एरिक्सनले भने, “डार्क म्याटरका घटना अत्यन्त दुर्लभ हुने अपेक्षा गरिएको छ। त्यसैले केही थोरै घटना मात्र डब्लूआईएमपी डार्क म्याटरको पहिलो प्रत्यक्ष प्रमाण बन्न पर्याप्त हुन सक्छन्।”

अनुसन्धान टोलीले आफ्ना परिणाम सन् २०२६ को टेभी पार्टिकल एस्ट्रोफिजिक्स सम्मेलनमा प्रस्तुत गरेको छ। यससम्बन्धी अध्ययन ‘फिजिकल रिभ्यु लेटर्स’ जर्नलमा प्रकाशनका लागि पठाइएको छ।

प्रकाशित: १९ भाद्र २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...