स्टिभ जब्सलाई मन नपर्ने कस्तो प्रविधियुक्त आईफोन ल्याउँदैछ एप्पलले?

  • Technology Khabar | १८ भाद्र २०८३, बिहीबार
स्टिभ जब्सलाई मन नपर्ने कस्तो प्रविधियुक्त आईफोन ल्याउँदैछ एप्पलले?
फाइल फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

एप्पलले फोल्डेबल आईफोनका लागि छोटो स्टाइलस परीक्षण गरेको र उक्त स्टाइलसलाई चुम्बकीय रुपमा फोनमा जोड्न तथा वायरलेस रुपमा चार्ज गर्न सकिने बनाएको बताएको छ।

तर आधिकारिक रुपमा सार्वजनिक गर्नुअघि नै एप्पलले यो योजना त्याग्न सक्ने सम्भावना रहेको छ।

ब्लुमबर्गका मार्क गर्मनका अनुसार एप्पलले छिटै सार्वजनिक हुने आशा गरिएको फोल्डेबल आइफोनका लागि अतिरिक्त स्टाइलस परीक्षण गरिरहेको थियो।

प्रोटोटाइप आइप्याडमा प्रयोग हुने एप्पल पेन्सिलभन्दा छोटो रहेको बताइएको छ। यसलाई फोनको छेउमा चुम्बकीय रुपमा जोड्न मिल्ने र वायरलेस रुपमा चार्ज गर्न सकिने गरी डिजाइन गरिएको थियो।

गर्मनका अनुसार एप्पलले यो अवधारणा त्याग्न सक्ने सम्भावना छ। यसको एउटा कारण स्टिभ जब्सको इलेक्ट्रोनि पेन अर्थात् स्टाइलसका बारेमा चर्चित धारणा पनि हुन सक्छ।

सन् २००७ मा पहिलो आइफोन सार्वजनिक गर्ने क्रममा जब्सले प्रयोगकर्तालाई स्टाइलस आवश्यक नपर्ने बताएका थिए। उनका अनुसार फोनलाई औंला र मल्टिटच प्रविधिको प्रयोगबाट सहज रुपमा चलाउन सकिन्छ।

सन् २०२१ देखि एप्पलले फोल्डेबल फोनमा काम गरिरहेको हुन सक्ने भन्दै समय समयमा चर्चा चल्दै आएको छ। पछिल्लो केही महिनामा भने यससम्बन्धी रिपोर्टहरु बढेका छन्।

लिक भएका मोडलहरुका आधारमा एप्पलले क्ल्यामशेल डिजाइनको सट्टा किताबजस्तो तेर्सो रुपमा खुल्ने डिजाइन रोजेको देखिन्छ। यसको बाहिरको स्क्रिन करिब ५.५ र भित्री स्क्रिन ७.८ देखि ८ इन्चसम्म हुने अनुमान गरिएको छ।

एप्पलले फेस आईडी हटाएर फोनको छेउमा रहेको पावर बटनमा टच आईडी समावेश गर्न सक्ने रिपोर्टहरु पनि सार्वजनिक भएका छन्।

फोल्डेबल आइफोन एप्पलले अहिलेसम्म बिक्री गरेको सबैभन्दा महँगो फोन हुने अनुमान गरिएको छ। केही विश्लेषकहरुले यसको सुरुवाती मूल्य १ हजार ९९९ देखि २ हजार ३२० अमेरिकि डलरसम्म हुन सक्ने अनुमान गरेका छन्। १ टीबी स्टोरेज भएको फोनको मूल्य भने करिब २ हजार ९०० पुग्न सक्ने बताइएको छ।

प्रकाशित: १८ भाद्र २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार