भोटेकोशी बाढीले एनसेलको एउटा मोबाइल टावर र ६० किमी भन्दा बढी अप्टिकल फाइबर पूर्णरुपमा नष्ट

  • Technology Khabar | १७ भाद्र २०८३, बुधबार
भोटेकोशी बाढीले एनसेलको एउटा मोबाइल टावर र ६० किमी भन्दा बढी अप्टिकल फाइबर पूर्णरुपमा नष्ट

काठमाडौं ।

भादौ १० गतेको विनाशकारी भोटेकोशी बाढीले एनसेलको टिमुरे, रसुवामा रहेको एउटा मोबाइल टावरका साथै ६० किमि भन्दाबढी अप्टिकल फाइवर लाइनमा पुर्णरुपमा क्षति पुर्याएको छ।

प्रारम्भिक आकलन अनुसार, यो क्षतिका कारण कम्पनीलाई ९ करोड बढीको आर्थिक हानी भएको कम्पनीले उल्लेख गरेको छ।

यसबीचमा एनसेलले उपलब्ध गराउँदै आएको निःशुल्क दूरसञ्चार सेवाको लाभ ३ लाख भन्दाबढी प्रभावित क्षेत्रका ग्राहकहरुले पाउँदै आएका छन् । कम्पनीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावित क्षेत्रका ग्राहकलाई लक्षित गरी बुधबारदेखि निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको छ।

बाढी आउनुअघिको सात दिनमा प्रभावित क्षेत्रमा सक्रिय रहेका एनसेलका ग्राहकहरू निःशुल्क सेवाका लागि योग्य हुने व्यवस्था गरिएको हो। कम्पनीले सुरुमा गत बुधबारदेखि तीन दिनका लागि निःशुल्क सेवा उपलब्ध गराएको थियो भने पछि सेवा अवधि शनिबारदेखि थप सात दिनका लागि बढाएको थियो।

कम्पनीका अनुसार ग्राहकहरूले प्रयोग गरेको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको मूल्य सोमबारसम्ममा रु. १ करोड २० लाख भन्दा बढी पुगिसकेको थियो। अहिले डाउन रहेका मोबाइल टावरको संख्या घटेसँगै निःशुल्क सेवाको प्रयोग पनि बढ्दै गएको कम्पनीले जनाएको छ।

विपद्का कारण आएको बाढी तथा पहिरोले फाइबर लिंकमा क्षति पुर्याउँदा नुवाकोट, रसुवा र धादिङमा एनसेलका २७ वटा टावर प्रभावित भएका थिए। कम्पनीले २७ मध्ये २४ वटा साइट पुनः सञ्चालनमा ल्याइसकेको छ। बाँकी तीनमध्ये रसुवाको घट्टेखोला, टिमुरेको एक वटा पूर्ण रुपमा क्षति भएको छ भने नुवाकोटको त्रिशूली, बिदुरस्थित रहेको एउटा टावर र तिरु, रसुवाको टावर पुनः संचालनमा ल्याउन प्राविधिकहरु फिल्डमा खटाई आवश्यक काम भईरहेको छ ।

यसका साथै, संकटको समयमा ग्राहकहरू निरन्तर सम्पर्कमा रहन सकून् भन्ने उद्देश्यले एनसेलले २५ हजार भन्दाबढी ग्राहकहरुलाई कुनै कारणले ब्यालेन्स टपअपनगरेका कारण एकतर्फी सेवा रोकिएको वा आउटगोइङ् र इनकमिङ् दुवै सेवा बन्द अवस्थामा रहेका सिमहरूलाई समेत सेवाहरु पुनः सक्रिय गरिदिएको जनाएको छ। यसले थुप्रै ग्राहकहरुलाई अहिलेको आपतकालीन अवस्थामा सञ्चार सेवा सहज बनेको छ। यी ग्राहकहरूले पनि एनसेलले उपलब्ध गराइरहेको निःशुल्क सेवाको सुविधा पाएका छन् । यसबाट विपद्को यस कठिन समयमा उनीहरू आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन तथा उद्धार र राहतका लागि आवश्यक सहयोग लिन सक्षम भएका छन् ।

एनसेलले नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा जनचेतनामुलक कल टोन र एसएमएस पनि सम्प्रेषण गर्दै आएको छ। त्यस्ता एसएमएसहरुमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगको लागि रकम पठाउनुअघि खाता, क्यूआर, लिंक आधिकारिक हो वा होइन भन्ने सुनिश्चित गर्न अपिल, सामाजिक संजाल तथा अनलाइन प्लेटफर्महरुमा विभत्स तथा हृदयविदारक प्रकृतिका फोटो, भिडियो लगायतका सामग्रीहरु नराखिदिनुहुन र राखेको भएपनि तुरुन्त हटाईदिने अनुरोधलगायतका रहेका छन्।

प्रकाशित: १७ भाद्र २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार