रसुवाको टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामरा

  • Technology Khabar | १५ भाद्र २०८३, सोमबार
रसुवाको टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामरा

काठमाडौं ।

रसुवाको टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामरा जडान कार्य सम्पन्न भएको छ।

हिजो ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले जल तथा मौसम विज्ञान विभाग (डीएचएम) का अधिकारी तथा सम्बन्धित विज्ञहरूसँग रसुवा–नुवाकोटसहित प्रभावित क्षेत्रमा मौसम तथा बाढीको सम्भावित जोखिमबारे छलफल गरेका थिए। छलफलका क्रममा नदीको अवस्था निरन्तर निगरानी, पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने तथा सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारीलाई तीव्रता दिने विषयमा जोड दिइएको थियो।

सोही छलफलपछि पूर्वसूचना तथा निगरानी प्रणालीलाई थप सुदृढ गर्ने क्रममा आज जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको अगुवाइमा टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान कार्य सम्पन्न गरिएको हो।

हाल उक्त प्रणाली सञ्चालनमा ल्याउन भीस्याट जडान तथा सञ्चार प्रणाली व्यवस्थापनको कार्य भइरहेको छ। सम्भवतः आज रातीदेखि नै प्रणाली सञ्चालनमा आउने बताईएको छ।

जडान गरिएको सीसी क्यामेरामार्फत टिमुरे–रसुवागढी क्षेत्रमा नदी तथा बाढीको अवस्थालाई रियल–टाइममा दृश्यरूपमा अवलोकन तथा निगरानी गर्न सकिनेछ। यसबाट प्राप्त सूचना तथा दृश्यलाई २४ घण्टे बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवाको नियमित प्रणालीमा एकीकृत गरी चौबिसै घण्टा निगरानी गरिनेछ।

विशेषगरी सीमावर्ती क्षेत्रमा नदीको अवस्था, बाढीको सम्भावित जोखिम तथा बाढीजन्य घटनाको प्रारम्भिक पहिचानमा यस प्रणालीले सहयोग पुर्‍याउनेछ। यसबाट समयमै सूचना प्रवाह, पूर्वसूचना तथा जोखिम न्यूनीकरणका कार्यलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १५ भाद्र २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार