काठमाडौं ।
गत जुनमा ह्वाट्सएपले स्क्याम अलर्ट फिचर विकास गरिरहेको जानकारी आएको थियो। मेटाले दुई साताभन्दा अघि यस फिचरबारे आधिकारिक रूपमा जानकारी दिएको थियो।
ह्वाट्सएपले स्क्याम अलर्ट फिचर सबै प्रयोगकर्ताका लागि कहिले उपलब्ध हुन्छ भन्नेबारे अझै स्पष्ट जानकारी दिएको छैन। तर अब यो फिचर ह्वाट्सएपको बिटा कार्यक्रममा सहभागी केही एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध भएको छ।
डब्लूएबीटाइन्फोका अनुसार एन्ड्रोइडका लागि ह्वाट्सएपको बिटा भर्सन २.२६.३४.१ मा यो फिचर उपलब्ध भएको पाइएको हो।
स्क्याम अलर्टले अपरिचित व्यक्तिबाट आएको सन्देश ठगी हुन सक्ने देखिएमा प्रयोगकर्तालाई चेतावनी दिनेछ। यो फिचर प्रयोग भइरहेको जानकारी सन्देश पठाउने व्यक्तिले नपाउने जीएसएमएरिनाले उल्लेख गरेको ट।
ह्वाट्सएप प्रयोगकर्ताले स्क्याम अलर्टको चेतावनी पाएपछि सन्देश पठाउने व्यक्तिलाई विश्वासयोग्य भनेर चिन्ह लगाउन वा ब्लक तथा रिपोर्ट गर्न सक्नेछन्। यदि प्रयोगकर्ताले उक्त च्याटलाई विश्वासयोग्य भनेर चिन्ह लगाएमा, फिचरको शुद्धता सुधार गर्न त्यस कुराकानीका पछिल्ला पाँचवटा सन्देश ह्वाट्सएपसँग सेयर गर्न सक्नेछन्।
तर यो फिचर प्रयोग गर्न एन्ड्रोइडका लागि ह्वाट्सएपमा म्यानुअल रूपमा सक्रिय गर्नुपर्नेछ। यो वैकल्पिक फिचर भएकाले सेटिङ्स> एकाउन्टमा गएर स्क्याम अलर्ट सक्रिय गर्न सकिन्छ।
मेटाले आफ्नो आधिकारिक ब्लग पोस्टमा ह्वाट्सएपको स्क्याम अलर्टलाई ‘सम्भावित ठगीका सन्देशबारे प्रयोगकर्तालाई सचेत गराउने, डिभाइसमा नै सञ्चालन हुने मेसिन लर्निङ मोडल प्रयोग गर्ने नयाँ वैकल्पिक फिचर’ भनेको छ।
मेटाका अनुसार सन्देशको वर्गीकरणका लागि कुनै पनि सन्देशको सामग्री डिभाइसबाट बाहिर जाने छैन।
साथै, सन्देश स्वतः ह्वाट्सएप, मेटा वा अन्य कसैलाई रिपोर्ट गरिने छैन। मोडलले कुनै सन्देश ठगी हुन सक्ने सम्भावना देखाएमा प्रयोगकर्ताको नियन्त्रणमा रहने वैकल्पिक स्क्याम अलर्ट उपलब्ध गराउँदै यो फिचरले एन्ड-टु-एन्ड इन्क्रिप्सनलाई कायम राख्नेछ।
प्रकाशित: १५ भाद्र २०८३, सोमबार