काठमाडौं ।
नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा थप सात स्थानमा मोबाइल सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ। बाढीका कारण प्रभावित अधिकांश बीटीएस साइट सञ्चालनमा आएसँगै नेपाल–चीन सीमासम्मका विभिन्न क्षेत्रमा सञ्चार सेवा पुनः सञ्चालन भएको कम्पनीले जनाएको हो।
नेपाल टेलिकमका अनुसार रसुवा जिल्लाअन्तर्गत नेपाल–चीन सीमामा रहेको रसुवा बोर्डर साइटसहित अपर सेन्जेन, छापकोटे, जिबजिबे र गतलाङ साइट सञ्चालनमा आएका छन्। नुवाकोटको चारघरे र चारघरे मुलबाटीमा रहेका बीटीएस साइट पनि सञ्चालनमा आएका छन्।
रसुवा बोर्डर बीटीएस साइटमार्फत नेपाल–चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर र स्याफ्रुबेंसीदेखि भोटेकोशी करिडोरसम्म मोबाइल सेवा पुनः सञ्चालनमा आएको कम्पनीले जनाएको छ।
अपर सेन्जेन साइटबाट चिलिमे, लामागाउँ र आमाछोदिङ्मो गाउँपालिका–५ लगायतका क्षेत्रमा मोबाइल सेवा उपलब्ध हुने भएको छ। छापकोटे साइटबाट बेत्रावती, काउली, त्रिशूली थ्रीबी, उत्तरगया गाउँपालिका र किस्पाङ क्षेत्रमा सेवा पुग्नेछ।
त्यस्तै जिबजिबे साइटबाट कालिका गाउँपालिकाका वडा नम्बर २ र ५, धारापानी तथा देउरालीडाँडा क्षेत्रमा मोबाइल सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ। गतलाङ बीटीएस साइटबाट गतलाङ, गोल्जुङ, चिलिमे, ठुलो भार्खु, शेर्पा गाउँ, ठुलो स्याफ्रु, स्याफ्रुबेंसी, खाङजुम र बरिम क्षेत्रमा सेवा सञ्चालनमा आएको छ।
चारघरे तथा चारघरे मुलबाटी बीटीएस साइटबाट विदुर नगरपालिकाका वडा नम्बर १२ र १३ मा मोबाइल सेवा सञ्चालनमा आएको छ।
विपद्को अवस्थामा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन नेपाल टेलिकमका प्राविधिकहरू निरन्तर खटिरहेको कम्पनीले जनाएको छ। कम्पनीले सेवा सुनिश्चितताका लागि प्रतिबद्ध रहेको जनाएको छ।
प्रकाशित: १४ भाद्र २०८३, आईतवार