काठमाडौं ।
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा नेपाल टेलिकमले मोबाइल सेवा पुनःस्थापनाको काम तीव्र बनाएको छ। बाढीबाट प्रभावित १२० साइटमध्ये हालसम्म ८० साइटमा सेवा सञ्चालनमा आइसकेको टेलिकमले जनाएको छ।
कम्पनीका अनुसार बाढी प्रभावित क्षेत्रमा सेवा पुनःसञ्चालनका लागि प्राविधिक टोली निरन्तर फिल्डमा खटिएको छ। हेलिकप्टरमार्फत कर्मचारी परिचालन गरी गोसाइँकुण्ड गाउँपालिका–६ मा रहेको नेपाल टेलिकमको मोबाइल स्टेसन धुन्चेमा ल्याई सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ।
यसै क्रममा बाढीका कारण बन्द भएको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित गोल्जुङ टावर (बाहुनडाँडा) सञ्चालनमा ल्याइएको छ। उक्त टावर सञ्चालनमा आएपछि स्याफ्रुबेँसी, पार्वतीकुण्ड गाउँपालिका–४ र ५ तथा गोसाइँकुण्ड गाउँपालिका–३ र ५ लगायत स्याफ्रुबेँसी–टिमुरे राजमार्गका केही क्षेत्रमा मोबाइल सेवा सुचारु भएको टेलिकमले जनाएको छ।
त्यस्तै, नुवाकोटको सूर्यगढी गाउँपालिका–३ मा रहेको गेखु मोबाइल टावर सञ्चालनमा आएपछि विदुर नगरपालिका–१० र ११ तथा सूर्यगढी गाउँपालिका–४ का केही क्षेत्रमा दूरसञ्चार सेवा सुचारु भएको छ।
टेलिकमले विदुर नगरपालिका–८ स्थित तुप्चे टावर तथा गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरे माथिको डाँडामा रहेको टेलिकम टावर सञ्चालनमा ल्याउन हेलिकप्टरमार्फत जेनेरेटर, पेट्रोल तथा प्राविधिक कर्मचारी पठाउने कामसमेत अघि बढाएको जनाएको छ।
कम्पनीका अनुसार भदौ १० गतेदेखि रसुवाको न्यौपानेचौर, राम्चे, गोल्जुङ र धुन्चे स्टेसनमा नेपाल टेलिकमका प्राविधिक कर्मचारी निरन्तर खटिएर बाढी प्रभावित क्षेत्रमा सेवा सञ्चालन गरिरहेका छन्।
विपद्को अवस्थामा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतना र आवश्यक प्राविधिक कार्यलाई उच्च प्राथमिकतामा राखिएको टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले बताएका छन्। बाढी प्रभावित क्षेत्रमा सेवा पुनःस्थापना गर्दै आफन्तजनसँग सञ्चार सम्पर्क कायम गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ।
प्रकाशित: १२ भाद्र २०८३, शुक्रबार