दोस्रो त्रैमासमा सर्वाधिक बिक्री भएका स्मार्टफोनमा ७५ प्रतिशत एण्ड्रोइड र २० प्रतिशत आइओएसका: रिपोर्ट

  • Technology Khabar | १२ भाद्र २०८३, शुक्रबार
दोस्रो त्रैमासमा सर्वाधिक बिक्री भएका स्मार्टफोनमा ७५ प्रतिशत एण्ड्रोइड र २० प्रतिशत आइओएसका: रिपोर्ट
एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्बिर।

काठमाडौं ।

काउन्टरप्वाइन्ट रिसर्चले यस वर्षको दोस्रो त्रैमासिक (अप्रिलदेखि जुनसम्म) विश्वमा सबैभन्दा बढी बिक्री भएका स्मार्टफोनबारे आफ्नो रिपोर्ट सार्वजनिक गरेको छ।

रिपोर्टले मोबाइल अपरेटिङ सिस्टमको अवस्थाबारे पनि जानकारी दिएको छ। यहाँ दिइएको तथ्यांक दोस्रो त्रैमासिकमा भएको स्मार्टफोन ढुवानीमा आधारित छ। त्यसैले प्रतिशत प्रयोगमा रहेका डिभाइसको नभई सो अवधिमा ढुवानी गरिएका फोनको हो।

जीएसएमएरिनाका अनुसार विश्वभर एन्ड्रोइड ७५ प्रतिशत हिस्सासहित अगाडि रहेको छ। पहिलो त्रैमासिकमा यसको हिस्सा ७३ प्रतिशत थियो। आईओएस २० प्रतिशत हिस्सासहित दोस्रो स्थानमा छ, जुन पहिलो त्रैमासिकको २२ प्रतिशतबाट घटेको हो। तेस्रो तथा अन्तिम स्थानमा ह्वावेको हार्मोनीओएस रहेको छ। यसको हिस्सा पहिलो त्रैमासिकमा जस्तै ५ प्रतिशत छ।

अमेरिकामा आईओएस ५१ प्रतिशत हिस्सासहित अगाडि छ। तर एन्ड्रोइड ४९ प्रतिशत हिस्सासहित निकै नजिक पुगेको छ। आईओएसको सबैभन्दा ठूलो हिस्सा सन् २०२५ को चौथो त्रैमासिकमा थियो, जतिबेला यसको हिस्सा ६९ प्रतिशत पुगेको थियो।

चीनमा एन्ड्रोइड ५८ प्रतिशत हिस्सासहित पहिलो स्थानमा छ। पहिलो त्रैमासिकमा यसको हिस्सा ६३ प्रतिशत थियो। तर एन्ड्रोइडपछि आईओएस दोस्रो स्थानमा छैन। हुवावेको हार्मोनीओएस २४ प्रतिशत हिस्सासहित दोस्रो स्थानमा छ, जुन पहिलो त्रैमासिकको १९ प्रतिशतभन्दा बढी हो। आईओएस १८ प्रतिशत हिस्सासहित तेस्रो स्थानमा छ। पहिलो त्रैमासिकमा यसको हिस्सा १७ प्रतिशत थियो।

भारतमा भने एन्ड्रोइड र आईओएसबीच ठूलो अन्तर देखिएको छ। एन्ड्रोइडले ९१ प्रतिशत हिस्सासहित बजारमा प्रभुत्व कायम गरेको छ। पहिलो त्रैमासिकमा यसको हिस्सा ९० प्रतिशत थियो। एप्पलको आईओएसको हिस्सा भने ९ प्रतिशत मात्र छ, जुन पहिलो त्रैमासिकको १० प्रतिशतबाट घटेको हो।

काउन्टरपोइन्ट रिसर्चका अनुसार गत वर्षको सोही अवधिको तुलनामा यस वर्षको दोस्रो त्रैमासिकमा विश्वव्यापी स्मार्टफोन ढुवानी ११ प्रतिशतले घटेको छ। विशेषगरी उदीयमान बजारमा प्रवेश तह र मध्यम तहका स्मार्टफोनको ढुवानी सबैभन्दा धेरै घटेको छ।

प्रकाशित: १२ भाद्र २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार