काठमाडौं ।
गण्डकी प्रदेशमा रहेको पोखरा विश्वविद्यालयले सञ्चालन गरिरहेको वार्षिक परीक्षा स्थगित गरिएको छ।
यही भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीका कारण सिर्जना भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै विश्वविद्यालयले लिइरहेको स्नातकतर्फको वार्षिक परीक्षा स्थगित गरिएको जनाएको छ।
विश्वविद्यालयका परीक्षा नियन्त्रक राजु पाण्डेयले पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालन भइरहेको स्नातकतर्फको ‘स्प्रिङ २०२६’ अन्तर्गतको यही भदौ १३, १४ र १५ गतेको निर्धारित सम्पूर्ण विषयको परीक्षा स्थगित गरिएको जानकारी दिनुभयो । परीक्षा नियन्त्रण कार्यालयले आज सूचना जारी गर्दै परीक्षा स्थगनको जानकारी गराएको हो ।
विश्वविद्यालयका अन्य पूर्वनिर्धारित परीक्षाहरु निर्धारित मितिमै हुने उल्लेख गर्दै परीक्षा नियन्त्रक पाण्डेयले स्थगित भएका परीक्षाको परीक्षा तालिका यथाशीघ्र प्रकाशन गरिने जानकारी दिए।
भोटेकोशीमा गएको बाढीका कारण बागमती प्रदेशसँगै गण्डकी प्रदेशका जिल्लाहरुमा समेत ठूलो क्षति पुगेको छ। प्रदेशका विभिन्न जिल्लाका तीर्थयात्रीहरु बाढीका कारण सम्पर्कविहीन भएका छन् । रासस
प्रकाशित: ११ भाद्र २०८३, बिहीबार