काठमाडौं ।
बाढी तथा पहिरोका कारण ‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ स्थगित गरिएको छ।
आईसीटी फाउन्डेसन नेपालले बुधबार सूचना जारी गर्दै भोलि भदौ ११ गते (२७ अगस्ट २०२६) आयोजना हुने तय भएको डिजिटल नेपाल कन्क्लेभ २०२६ कार्यक्रम तत्कालका लागि स्थगित गरिएको जनाएको हो।
नेपालका भोटेकोशी र त्रिशूली नदीमा आएको आकस्मिक बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएकाप्रति आयोजकले दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा उद्धार, राहत तथा उपचारमा खटिएका सबैप्रति सम्मान व्यक्त गरेको छ।
‘विपद्को यस विषम परिस्थितिलाई मध्यनजर गर्दै’ कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ। कन्क्लेभको नयाँ मिति तथा आवश्यक जानकारी परिस्थितिको समीक्षा गरी केही दिनभित्र सार्वजनिक गरिने बताइएको छ।
आयोजकले सहभागी, साझेदार, प्रायोजक तथा शुभेच्छुकहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै निरन्तर सहयोग, साथ र समझदारीका लागि धन्यवादसमेत दिएको छ।
यसअघि आईसीटी फाउन्डेसन नेपालले भदौ ११ गते ललितपुरको द प्लाजामा पाँचौं संस्करणको डिजिटल नेपाल कन्क्लेभ आयोजना गर्ने तयारी गरेको थियो। कन्क्लेभमा ‘रिइम्याजिनिङ गभर्नेन्स, डेटा एन्ड द डिजिटल इकोनोमी’ विषयमा छलफल हुने तय थियो।
कार्यक्रममा डिजिटल गभर्नेन्स, डाटा, आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा, डिजिटल अर्थतन्त्र तथा नवप्रवर्तनलगायत विषयमा विभिन्न सत्र र प्यानल छलफल गर्ने तयारी थियो।
प्रकाशित: १० भाद्र २०८३, बुधबार