गत्लाङमा ड्रोनबाट जुनिपरको बीउ छर्ने नेपालकै पहिलो परीक्षण

  • Technology Khabar | ५ भाद्र २०८३, शुक्रबार
गत्लाङमा ड्रोनबाट जुनिपरको बीउ छर्ने नेपालकै पहिलो परीक्षण

काठमाडौं ।

रसुवाको गत्लाङमा डढेलोले क्षति पुर्‍याएको वन तथा चरन क्षेत्र पुनर्स्थापनाका लागि ड्रोनमार्फत बीउ छर्ने नेपालकै पहिलो परीक्षण गरिएको छ।

सन् २००९ मा गत्लाङका जंगलमा झन्डै १०० दिनसम्म लागेको आगलागीले ४७२ हेक्टर क्षेत्र प्रभावित भएको थियो। आगलागीका कारण याक पाल्दै आएका करिब ४० परिवारले निर्भर गर्दै आएको चरन क्षेत्रसमेत ठूलो क्षति पुगेको थियो।

बेलायतको सहयोगमा सञ्चालित कारा सीएआरए कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड) र त्रिभुवन विश्वविद्यालयको वन विज्ञान संस्थानले दुर्गम तथा अत्यधिक भिरालो क्षेत्रमा ड्रोनमार्फत जुनिपरको बीउ छर्ने परीक्षण गरेका हुन्।

परीक्षणका क्रममा मानिस पुगेर हातैले बीउ छर्न कठिन हुने पहाडी क्षेत्रमा १२५ किलोग्रामभन्दा बढी जुनिपरको बीउ ड्रोनबाट छरिएको छ। यसलाई नेपालमा वन तथा क्षतिग्रस्त चरन क्षेत्र पुनर्स्थापनाका लागि प्रविधिको प्रयोग गर्ने पहिलोपटकको प्रयासका रूपमा लिइएको छ।

पुनर्स्थापना अभियानमा स्थानीय समुदायको समेत सहभागिता रहेको छ। समुदायले क्षेत्रमा फैलिएका झारपात हटाउने तथा घाँसका बीउ पुनः छर्ने काम गरेका छन्। जिल्ला वन कार्यालयले समेत आफ्नो कार्य सञ्चालन प्रक्रियामा आवश्यक सुधार गरेको जनाइएको छ।

त्यस्तै, नेपाली अनुसन्धानकर्ताले कमजोर तथा संवेदनशील हिमाली पारिस्थितिक प्रणालीमा वन पुनर्स्थापनाका लागि कुन विधि बढी प्रभावकारी हुन्छ भन्ने विषयमा परीक्षण गरिरहेका छन्।

नेपालमा वन डढेलोका घटना बढ्दै गइरहेका बेला गत्लाङको यो प्रयास क्षतिग्रस्त वन तथा चरन क्षेत्र पुनर्स्थापनाको सिकाइस्थल बन्न सक्ने अपेक्षा गरिएको छ। समुदाय, अनुसन्धानकर्ता र सरकारी निकायबीचको सहकार्यबाट हिमाली क्षेत्रमा क्षतिग्रस्त भूभाग पुनर्स्थापना गर्न सकिने सम्भावनाको परीक्षणका रूपमा यसलाई हेरिएको छ।

बेलायत–नेपाल सहकार्यअन्तर्गत अघि बढाइएको यस परियोजनाले वातावरणीय पुनर्स्थापनामा स्थानीय समुदाय, अनुसन्धान र नयाँ प्रविधिको संयोजनको सम्भावनासमेत देखाएको छ।

प्रकाशित: ५ भाद्र २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×